काठमाडौं, फागुन ६ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शशांक काइरालाले सत्ता गठबन्धन टुटे पनि एमसीसीलाई संसद्बाट अनुमोदन गर्नुपर्ने बताउनु भएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प मात्रै रहेको भन्दै नेता कोइरालाले गठबन्धन टुटे पनि एमसीसी पास गर्नुपर्ने निश्कर्ष पनि सुनाउनु भएको छ । आजको संसद् बैठक स्थगित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्ने पक्का रहेको बताउनु भयो ।
‘एमसीसी नेपालको लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरू उभिरहेका छन् । हाम्रो अस्तित्व नै डामाडोल हुन्छ । अमेरिकी सेना यहाँ आउँछन् भन्ने जस्ता धेरै कुराहरू छन् । ९ वटा मुलुकमा एमसीसी जुन चलिरहेको छ, त्यसमा त कोही सेना परिचालन भएको छैन । त्यसलाई पनि आधार मानेर मलाई के लाग्छ भने एमसीसी हामीले पारित गर्नुपर्छ,’ कोइरालाले भन्नुभयो ।
उहाँले प्रधानमन्त्री देउवाका सामू गठबन्धन कि एमसीसी भन्ने निर्णय गर्ने बेला भएको पनि प्रष्ट पार्नुभयो । ‘शेरबहादुरजीको अघि दुई उपाय छन् । एउटा एमसीसी पास गराउने । अर्को सत्ता नबिग्रियोस भन्ने । यो विकल्प उहाँले नै रोज्नुपर्ने हो । उहाँले कुन रोज्नुहुन्छ ? एमसीसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु म । गठबन्धनलाई राख्ने हो भने एमसीसी छोड्नुपर्छ । दुईमध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ । एमसीसी पारित गरौँ भन्ने मेरो सल्लाह हो । किनभने ५ सय मिलियन डलर धेरै हो । यसले ट्रान्समिसन लाइनदेखि बाटोसम्म यत्रो ठूलो अनुदान हतपत कसैले दिँदैन । यसको पछि उनीहरूको कुनै स्वार्थ छैन भन्ने मलाई लाग्छ,’ कोइरालाको भनाई छ ।
उहाँले एमसीसीमा अमेरिकाको कुनै स्वार्थ नरहेको पनि जिकिर गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्