जनता टाइम्स

७ फाल्गुन २०७८, शनिबार १०:२०

चर्चमा बमजस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समूहका ९ जना पक्राउ


काठमाडौं, फागुन ७ ।   विर्तामोड बसपार्क र दमकस्थित सिवान चर्चमा बमजस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समूहका ९ जना पक्राउ परेका छन्।प्रहरीले फरक–फरक मिति र विभिन्न स्थानबाट पक्राउ परेका ९ जनालाई झापाले सार्वजानिक गरेको हो। पक्राउ पर्ने झापा गौरादह नगरपालिका–२ का ३८ वर्षीय सुमनकुमार कार्की बम आतंक मच्चाउने समूहका योजनाकार रहेको प्रहरीले जनाएको छ। यस्तै, झापा कनकाई नगरपालिका–३ का ४१ वर्षीय भीष्म थापा, दमक–९ की ५० वर्षीया देवी बास्कोटा (गुरागाईं), कनकाई–४ कोटीहोममा पुजारीको काम गर्ने ५८ वर्षीय यमदत्त सिटौला, सिवसताक्षी–१ का ३२ वर्षीय दिलकुमार सामेखाम छन्।

त्यसैगरी, संखुवासभा खाँदबारी–१० घर भई हाल सुन्दरहरैचा–६ मोरङ बस्ने २९ वर्षीय मनमोहन दाहाल, झापा गौरीगञ्ज – ३ का ३२ वर्षीय अनन्तप्रसाद गिरी, गौरादह–५ का ३३ वर्षीय प्रदीप थापा र गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई रहेका छन्।विर्तामोड–४ स्थित पश्चिम बस स्ट्याण्डमा ९ गते बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर, हिमाल सुरक्षा परिषदको नामको पर्चाहरू फेला परेको थियो। यसैगरी, दमक नगरपालिका- ५ स्थित सिवान चर्चको गेटमा माघ १३ गते सोही प्रकृतिको शंकास्पद वस्तु प्रेसर कुकर र हिमाल सुरक्षा परिषदको नामको पर्चा फेला परेको थियो। पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले घटनाको मा अनुसन्धान गरी उक्त अपराधिक गतिविधिमा संग्लग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरुबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपाल लेखेको पर्चा २ थान, हिमाल सुरक्षा परिषद नेपाल लेखिएको लेटर प्याड ५ थान, बैंकको चेकबुक २ थान, केन्द्रीय कमिटी, कोसी अञ्चल, मेची अञ्चल कमिटीको हस्ताक्षर मात्र भएका छापहरू १० थानलगायत बरामद गरेको छ।