जनता टाइम्स

७ फाल्गुन २०७८, शनिबार १०:२८

आफ्नै पसलमा काम गर्ने कामदारसंग प्रेम बसेपछि श्रीमतीले गरिन श्रीमानको हत्या


काठमाडौं, फागुन ७ । लामो समय प्रेम गरेर ११ वर्ष अघि विवाह गरेकी श्रीमती आफैले संचालन गरेको औषधी डिलरमा काम गर्ने कर्मचारीसंग नजिक भएको थाहा पाएपछि ३३ वर्षीय देवीप्रसाद दुलालले ति कर्मचारीलाई कामवाट निकालिदिएका थिए ।

विराटनगर महानगरपालिका–१० मधुमारामा औषधि पसल सञ्चालन गर्दै आएका दुलालको आफ्नै श्रीमतीले प्रेमीसंग मिलेर ज्यान लिइन् ।दुलालको उनकै वेडमा मृत्यु भएको अवस्थामा शव फेला परेको थियो । मधुमारामा औषधि पसल चलाएका दुलालको घर भने सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा छ । उनको २०७७ साल जेठ ४ गते राति हत्या भएको थियो । उनले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नाम दिएर औषधिको डिलर सञ्चालन गर्दै आएका थिए ।११ वर्ष अघि विवाह गरेकी श्रीमती ३३ वर्षीया मीना श्रेष्ठ ९दुलाल० को आफ्नै पसलमा काम गर्ने सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहसंग प्रेम बस्यो । यो कुरा श्रीमानले थाहा पाए ।

घर भित्रकै कुरा भनेर उनले साहलाई कामवाट निकालिदिए श्रीमतीलाई पनि सजग गराए । तर श्रीमतीले भने आफ्नो प्रेममा बाधक बनेको महशुष गरेर प्रेमीसंग मिलेर श्रीमानकै ज्यान लिइन् ।सो घटनामा अदालतले मीना र उनका प्रेमी साहलाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीश मनोज केसीको इजलासले दुवै जनालाई जन्मकैदको फैसला सुनाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार आएको फैसला अनुसार मीना र ब्रह्मदेवले २५ वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने हुन्छ । घटनामा सहयोग पुर्याएको आरोप लागेका इटहरीका २० वर्षीय सोनुकुमार साहको सजाय निर्धारणका लागि पछि छुट्टै सुनुवाइ हुने सूचना अधिकारी बुढाथोकीले बताउनुभयो ।