काठमाडौं, फागुन ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीमाथि घात गरेर एमसीसी अघि बढाउने सहमति जनाउनु भएको तथ्य बाहिर आएको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादीका नेता नारायणकाजी श्रेष्ठले आफ्ना पार्टी अध्यक्षहरु बिकेको भन्दै पोल खोलिदिनु भएपछि यो तथ्य बाहिर आएको हो ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई आइतबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नबोलाएको पाइएको छ । सुरुमा खनाल र श्रेष्ठ आउँदै छन् भनिए पनि दुवै नेतालाई नबोलाउन प्रचण्ड र माधवले नै प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको पाइएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले बैठकमा आफूलाई नबोलाइएको जानकारी दिनुभयो । उहाँले एमसीसी संसदमा टेबुल गर्ने सहमतिप्रति आफ्नो आपत्ति रहेको बताउनु भयो । खनालले विदेशी शक्तिको दबाबमा एमसीसी संसदबाट अनुमोदन गर्ने प्रयास भएको आरोपसमेत लगाउनुभयो ।
माओवादी केन्द्रका नेता श्रेष्ठले पनि बैठकबारे आफूलाई कुनै जानकारी नदिएको उल्लेख गर्नुभयो । एमसीसी संसदमा टेबुल गर्ने विषयमा पार्टीमा कुनै छलफल नभएको भन्दै उहाँले आफ्नो विरोध कायमै रहेको बताउनु भयो। खनाल र श्रेष्ठ सुरुदेखि नै एमसीसीको विपक्षमा उभिँदै आउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्