काठमाडौं, ८ फागुन । राष्ट्रिय युवा संघ, नेपाल काठमाडौं महानगर कमिटी तथा क्षेत्र नं ५ ले शनिबार महाराजगञ्जमा गरेको कार्यक्रममा १५० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा १५० जनाले रक्तदान गरेको जानकारी संघका केन्द्रीय सदस्य प्रेम दाहालले दिनुभयो । उहाँले शनिबारको कार्य्रकमबाट १५० पिन्ट रगत संकलन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक काममा सक्रिय युवाहरुलाई पार्टीले प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले परोपकारी काममा युवाको सक्रियता प्रशंसनीय काम भएको उल्लेख गर्नुभयो ।

‘राजनीति पनि देश र जनताको हितकै लागि हुन्छ, समाजसेवा पनि नागरिकको हितकै लागि हुन्छ,’ पोखरेलले भन्नुभयो,‘युवाहरु यस्तो काममा प्रेरित हुनुपर्छ, तपाईंहरुलाई म र पार्टीको प्रोत्साहन सँधै रहन्छ ।’

रगत दान गर्नेहरूलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रमाणपत्र दिनुभएको थियो । सोही अवसरमा एमाले केन्द्रीय सदस्य नारायण सिलवाल र काठमाडौँ अध्यक्ष दीपक निरौला पनि सहभागी हुनुभएको थियो । युवा संघले केहीदिन अघि साताव्यापी रूपमा रक्तदान अभियान नै चलाएको थियो ।

शनिबारको कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य दाहाल, पेम्बा घले, ललिन्द्र राई, काठमाडौँ महानगर कमिटीका अध्यक्ष प्रबिन श्रेष्ठलगायत अभियानमा सक्रिय रहनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्