जनता टाइम्स

९ फाल्गुन २०७८, सोमबार ०८:३७

नेकपा एसको रामग्राम नगर कमिटी एमालेमा समाहित


काठमाडौं, ९ फागुन । नेकपा एकीकृत समाजवादी पश्चिम नवलपरासीका अधिकांश नेता कार्यकर्ता एमालेमा फर्किएका छन् । उक्त पार्टीका प्रदेश सदस्य तथा जिल्ला उपाध्यक्षसहित रामग्राम नगर कमिटी नै एमालेमा समाहित भएको छ ।

जिल्लाको रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकालाई कार्यक्षेत्र बनाइ नेकपा एस पार्टीको प्रदेश, जिल्ला तथा नगर कमिटी तथा भ्रातृ संगठनमा क्रियाशील नेता तथा कार्यकर्ताहरुले एक विज्ञप्ति जारी गर्दै सामूहिक रुपमा आफूहरु पूरानै घर नेकपा एमालेमा फर्किएको घोषणा गरेका हुन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र परिस्थितिलाई मूल्यांकन गर्दा एमालेको नेतृत्वबिना समृद्धि सम्भव नभएकोले पूरानै पार्टीमा क्रियाशील हुने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।एमालेमा फर्किनेमा नेकपा एस लुम्बिनी प्रदेश कमिटी सदस्य खगेश्वर पन्थी, प्रदेश सदस्य एवं अनेमसंघ केन्द्रीय सदस्य, सरिता पौडेल, प्रदेश सदस्य जगरानी यादव, नवलपरासीका वरिष्ठ उपाध्यक्ष कृपाललाल यादव, अनेरास्ववियूका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक भगवतीप्रसाद यादव, पार्टीका जिल्ला सदस्य निर्मला चौधरीलगायत छन् ।उक्त पार्टीको रामग्राम नगर अध्यक्ष रामप्रसाद पौडेल, नगर सचिव पार्वती विक, सहसचिव सुरज पौडेल लगायत नगर कमिटी पनि एमालेमा समाहित भएको छ ।

अनेमसंघका अधिकांश जिल्ला कमिटी सदस्यहरु पनि एमालेमा फर्किएको एमाले जिल्ला सचिव धरिज शर्मा बस्यालले जानकारी दिनुभयो ।