जनता टाइम्स

२० असार २०७६, शुक्रबार १८:५४

भारतको दवावमा भन्सार विन्दुमै तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित


काठमाडौं, असार २०

भारतरको चर्को दबाब सामु नेपाल सरकार झुकेको छ । भारत सरकारको दबाब थेग्न नसकेर सरकारले नेपालमा आयात हुने तरकारीको भन्सार विन्दुमा भइरहेको विषादी परीक्षण कार्य तत्कालका लागि स्थगित गरेको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी भारतसहित तेश्रो मुलुकबाट आयात हुने ताजा तरकारी र फलफूलको भन्सार विन्दुमै क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरेको थियो । सो ब्यवस्थालाई हटाउन भारतले चर्काे दवाव दिँदै आएको थियो । सरकारले गत असार ३ गतेदेखि कार्यान्वयनमा ल्याएको यो नीति १७ औं दिनमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयकै प्रस्तावमा मन्त्रिपरिषदको बैठकले फिर्ता लिने निर्णय गरेको हो ।

भन्सार विन्दुमा भारतबाट आयात हुने तरकारी तथा फलफूलको कडाईका साथ परीक्षण हुन थालेपछि पछिल्लो समयमा भारत सरकारले चर्को रुपमा यो व्यवस्थाको विरोध गर्दै फिर्ता लिन दबाब दिँदै आएको थियो । भारतीय दूताबास र भारतीय निर्यातकर्ता व्यापारीहरुको विभिन्न टोली कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, अर्थ मन्त्रालय तथा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमै पुगेर यो व्यवस्था स्थगीत गर्न दबाब दिँदै आएका थिए । सरकारले जनताको स्वास्थ्यका लागि संझौत ागर्न नसक्ने बताए पनि अन्नत भारतसामु झुकेको हो ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले आन्तरिक तयारी गरी बिहीबारको मन्त्रिपरिषद्को बैठकमा परीक्षण कार्य तत्काल स्थगित गर्ने विषयमा प्रस्ताव लगेको थियो । मन्त्रालयका अनुसार भारतको चर्को दबाब थेग्न नसकेपछि बाणिज्यमन्त्री मात्रिका यादबले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लग्नु भएको थियो । सरकारले तत्कालका लागि परीक्षण स्थगित गरी आगामी ६ महिनाका लागि तरकारी, फलफूल र मानव स्वास्थ्यलाई हानी पुर्याउने क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ ‘इनर्जी ड्रिंक्स’ र ‘फ्लेवर सिन्थेटिक ड्रिंक्स–जुस’ को आयातमा लगाइएको प्रतिबन्ध पनि फुकुवा गर्ने निर्णय सरकारले गरेको छ ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले परीक्षण कार्य फिर्ता लिइएको पुष्टि गर्नुभयो । शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकलाई सम्बोधन गर्दै कृषिमन्त्री चक्रपाणी खनालले सो जानकारी दिनुभएको हो । ‘बाणिज्य मन्त्रालयले लाइन मिनिष्ट्रीसँग छलफल नै नगरी एकलौटी रुपमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने विषयमा मन्त्रिपरिषदको बैठकमा प्रस्ताव लगे, उक्त निर्णय मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ,’ मन्त्री खनालले भन्नुभयो ।

सरकारले पछिल्लो समयमा आयात हुने तरकारीको विषादी परीक्षण र जुसमाथिको प्रतिबन्ध नेपाली उपभोक्ता र किसानको पक्षमा निक्कै महत्वपूर्ण मानिएको थियो ।