जनता टाइम्स

१० फाल्गुन २०७८, मंगलवार ०८:१९

दिउँसो सामान्य बदली, राति सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना


काठमाडौं, फागुन १० । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । दिउँसो बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

बुधबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।