जनता टाइम्स

१० फाल्गुन २०७८, मंगलवार १२:४९

कल सेन्टरका १३ युवतीसहित ३७ पक्राउ


काठमाडौं, १० फागुन । कल सेन्टरको आवरणमा विभिन्न चिनियाँ एप्स प्रयोग गरी भारतीयलाई लोन दिने र पैसा उठाउने समूह काठमाडौंबाट पक्राउ परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बानेश्वरस्थित लेवन ग्रुप अफ कम्पनीका ३७ जना कर्मचारीलाई पक्राउ गरेको हो । सोमबार पक्राउ गरिएकामध्ये एक चिनियाँ नागरिक र १३ जना युवती पनि छन् ।

चिनियाँहरूले कल सेन्टरमा काम गर्ने भन्दै नेपाली युवा–युवतीलाई भर्ना गर्ने र चिनियाँ एप्समार्फत भारतीयलाई एक साताका लागि २० हजार रूपैयाँसम्म लोन उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुलेको छ । निर्धारित समयभित्र पैसा नदिए मोटो रकममा ब्याज असुल्ने गरेको प्रहरीको दाबी छ ।

उक्त कम्पनीमा काम गर्ने नेपाली कर्मचारीलाई मासिक १५–१८ हजारसम्म तलब । उक्त रकम चीनबाटै भुक्तान गर्ने गरिएको प्रहरीले जनाएको छ । नेपालीको नाममा कम्पनी रहेपनि लगानीकर्ता भने चीनमै बसेर काम गर्ने गरेको पाइएको छ । प्रहरीकाअनुसार ती चिनियाँ एप्समार्फत भारतीयले लोनका लागि एप्लाई गर्ने र त्यसरी एप्लाई गर्दा उनीहरूले आफ्ना सबै सरकारी विवरण उल्लेख गर्नुपर्ने शर्त छ ।