जनता टाइम्स

१० फाल्गुन २०७८, मंगलवार १६:५२

गोविन्दराज जोशी भन्छन्- रामचन्द्रसँग तुलना गर्दा अपमान महसुस हुन्छ


तनहुँ, १० फागुन । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग तुलना गर्दा आफ्नो अपमान हुने बताउनुभएको छ । वामपन्थी पार्टीबाट कांग्रेसमा आएका अवसरवादी पौडेलसँग आफ्नो तुलना गर्दा अपमान महसुस हुने उहाँको भनाइ छ । उहाँले आफू पौडेलसँग कुनै हालतमा मिल्न नसक्ने स्पष्ट पार्नुभयो ।

बिपी विचार समाज शुक्लागण्डकीको अधिवेशनलाई आज सम्बोधन गर्दै जोशीले भन्नुभयो, ‘तपाईहरूले रामचन्द्र पौडेल र गोविन्दराज जोशी मिल्नुपर्यो । तपाईहरू आपसमा लड्नुभो, एक अर्कालाई लखेट्नु भयो, झगडा गर्नु भएन भन्नुहुन्छ । त्यो भनाइले मलाई अपमानको महशुस हुन्छ । किनकी पौडेल २०१८ सालमा मात्र कांग्रेसमा आएको मान्छे हुन् ।

आफैँले भनेका छन् त्योभन्दा पहिले वामपन्थी पार्टीमा थिएँ भनेर । नेपालको प्रजातान्त्रिक आन्दोलनमा कुनै योगदान नभएकोसँग तुलना हुँदा आफू अपमानित भएको ठान्छु । साथीहरुले मेरो भलो गर्नु पर्दैन । तर, रामचन्द्र र गोविन्दराज मिल्न परो भन्ने कुरा नगर्दिनु होला ।’

उहाँले पौडेल कांग्रेसमा फाइदा हुन्छ भनेर आएको र कांग्रेसमा पनि कहिले कता कहिले कता लाग्ने अवसरवादी चरित्रको नेता भएको टिप्पणी गर्नुभयो । तनहुँमा कांग्रेस पौडेलकै कारण समाप्त भएको उहाँको आरोप छ । पौडेलले पार्टीमा भाडभैलो मच्याइरहेकाले राष्ट्रघातीको संज्ञा दिनुभयो ।

‘जसले पैसा खाएर संविधानमा धर्म निरपेक्षता लेख्यो त्यो मान्छे राष्ट्रघाती नहुने हामी इमान्दार नेता कार्यकर्ता राष्ट्रघाती हुने,’ उहाँको आरोप छ । जोशीले रामचन्द्र पौडेलहरूको जालझेलका कारण आफूलाई पार्टीले कारवाही गरेको टिप्पणी पनि गर्नुभयो । ‘मलाई अहिलेसम्म कारवाही भएको पत्र दिइएको छैन् । न त केन्द्रीय समितिले निर्णय गरेको छ । दुई चार जना मिलेर जुन नाटक गरिएको छ । त्यो विरुद्धको अभियानमा लागेको छु,’ उहाँले प्रस्ट्याउनुभयो ।

नेता जोशीलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका जोशीलाई कांग्रेसको अनुशासन समितिले पाँच वर्षका लागि पार्टीबाट निस्काशन गरेको हो । १० साउन २०७६ मा कारवाहीमा परेका उहाँले अब पार्टीले कारवाही फुकुवा गरे पनि केही अर्थ नराख्ने उल्लेख गर्नुभयो ।

अबको निर्वाचनमा आफु पक्षधरलाई तनहुँ कांग्रेसले नसमेटे माओवादी एमाले समाजवादी जुनसुकै पार्टीसँग तालमेल गरेर अगाडि बढ्ने जोशीको दाबी छ । ‘पहिलो प्राथकिमता कांग्रेससँग मिलेर जाने हो । सम्मानजनक व्यवहार नभए हामी जुनसुकै पार्टीसँग मिलेर निर्वाचन लड्नेछौँ,’ उहाँको चेतावनी छ ।