जनता टाइम्स

१२ फाल्गुन २०७८, बिहीबार १२:१४

देउवाले गठबन्धन टुटाएर चुनाव घोषणा गर्न लागेका हुन त ? कांग्रेस नेता पौडेलले गरे यस्तो खुलाशा


तनहुँ, १२ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न बताउनुभयो ।

प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपा (माओवादी केन्द्र) र नेकपा (एस)ले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको प्रष्ट पार्नुभयो ।‘सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ,’ उहाँ भन्नुभयो ।वरिष्ठ नेता पौडेलले एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौं भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गर्नुभयो ।

‘उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ,’ उहाँले भन्नुभयो ।एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसिसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाउनुभयो । ‘एमसीसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो,’ उहाँले भन्नुभयो, ‘जनताका बीचमा भ्रम फैलाउने काम गरिएको छ ।’