जनता टाइम्स

१२ फाल्गुन २०७८, बिहीबार १६:४४

एमसीसी छल्न भागेका माधव नेपाल र प्रमे आले धनगढीमा


काठमाडौं, १२ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र पर्यटनमन्त्री प्रेम आले धनगढीमा पुग्नुभएको छ । देशको राष्ट्रिय मुद्धा अमेरिकी सहयोग परियोजना एमसीसी छल्नका लागि धनगढी जानुभएको नेपाल र आले विमानस्थलमा ओर्लनुभएको छ ।

केही समयअघि मात्रै एयरपोर्टमा पुग्नुभएको नेपाल र आलेलाई नेकपा समाजवादीका केही कार्यकर्ताले एयरपोर्टमा आएर माला लगाई स्वागत गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठक स्थगित भएपनि भोली १ बजे पुनः बस्नेछ । नेपाल एउटा सानो कार्यक्रममा सहभागी हुनका लागि त्यहाँ पुग्नुभएको हो । नेपालले अन्य केही सांसदलाई नै लिएर जाने भएपछि एक जना सांसद भने धनगढी जान नमानेर फर्किनुभएको थियो ।

यता एमसीसी छल्न पर्वत पुगेका अर्थमन्त्री जनार्दन शर्मा भने स्काइ टेवलमा रमाउँदै बस्नुभएको छ । अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना (एमसिसी) प्रस्ताव संसदमा टेबल गर्ने कार्यसूची थियो । तर, सोही दिन शर्मा बिरामी परेका खबरहरू मिडियामा सार्वजनिक भए र उहाँ संसदमा गयल हुनुभयो ।

आइतबारको संसदमा बिरामी भएर संसदमा अनुपश्थित भएपछि अर्थमन्त्री शर्मा आज पनि संसदमा अनुपश्थित रहनुभयो । आज संसदमा एमसिसीबारे छलफल गर्ने संभावित कार्यसूची बुधबार दिउँसै संसद सचिवालयले सार्वजनिक गरिसकेको थियो ।

तर, शर्मा भने आज बिहानै बलेवा विमानस्थलको अवलोकन गर्दै बाहिरी जिल्लामा नै रमाउँदै हुनुहुन्छ । त्यसपछि पर्वतको गुप्तेश्वर गुफा अवलोकन गर्नुभएको शर्मा कुश्मामा संचालित बन्जी जम्प हेर्न पुग्नुभयो । उहाँले त्यहाँ गएर ‘स्काई चियर’मा बसेका तस्बिरहरू सामाजिक सञ्जालतिर भाइरल नै भएका छन् ।