काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको छ । नेकपा एमाले अध्यक्ष ओली केही समयअघि बालुवाटार पुग्नुभएको छ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई फर्किएलगत्तै ओलीको गाडी प्रधानमन्त्री निवास छिरेको हो ।
सत्तारुढ र प्रमुख प्रतिपक्षी नेताबीचको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आजको संसद बैठकबाट एमसीसीबारेको छलफल अघि बढ्न नसकेपछि प्रधानमन्त्री देउवाले गठबन्धनका अन्य दलसँगको संवाद करिब सकिएको बताउनुभएको थियो । यसअघि संसद भवनमा भएको छलफलका क्रममा ओलीसँग एमसीसी पारितका लागि सरकारको साथमा उभिए आफूले चाल्नुपर्ने कदमबारे निर्णय लिन तयार रहेको देउवाले बताउनुभएको थियो ।
अध्यक्ष ओलीले आफूहरुले उठाउँदै आएको माधव नेपालसहितका १४ सांसदमाथिको कारबाहीबारे प्रधानमन्त्रीले ठोस निर्णय लिनुपर्ने पनि बताउनुभएको थियो । त्यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ पनि बालुवाटर पुग्नुभएको छ । कांग्रेस महाममन्त्री गगन थापा पनि वार्तामा सहभागी हुने बताइएको छ । थापा बालुवाटार प्रवेश गरिसक्नुभएको छ । यसअघि आजै दिउँसो देउवा र ओलीसहित शिर्षनेताहरुबीच छलफल भएको थियो । यस्तै नेकपा माओवादीले पनि अध्यक्ष ओलीसँग छलफल गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्