जनता टाइम्स

१३ फाल्गुन २०७८, शुक्रबार १५:३१

माधवले देउवालाई भेटेलगत्तै समाजवादीको बैठक सिंहदरबारमा


काठमाडौं, १३ फागुन । एकीकृत समाजवादीका शीर्ष नेताहरू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे अनौपचारिक छलफलमा जुटेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल चलिरहेको एकीकृत समाजवादीको संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू एमसीसीबारे अनौपचारिक छलफलमा जुट्नुभएको हो । एकीकृत समाजवादी संसदमा एमसीसीको विपक्षमा उभिने बताउँदै आएको छ । आज बिहान धनगढीबाट काठमाडौं आएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर छलफल गर्नुभएको थियो ।

बालुवाटारबाट फर्केपछि नेपालले आफ्नै पार्टीका शीर्ष नेताहरूसँग छलफल थाल्नुभएको हो । प्रधानमन्त्री देउवाले एमालेको समर्थनमा भएपनि एमसीसी संसदबाट अनुमोदन गर्ने प्रयास गर्नुभएको छ ।

एकीकृत समाजवादी र माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिँदा सत्तारुढ गठबन्धन टुट्ने खतरा बढेको छ । एमसीसीको विपक्षमा उभिने एकीकृत समाजवादीको निर्णयलाई पुनर्विचार गर्न कांग्रेसले आग्रह गरेको चर्चा भइरहेका बेला अध्यक्ष नेपालले देउवासँग छलफल सकेर आफ्नै पार्टीका शीर्ष नेतासँग छलफल गरिरहनुभएको हो ।