जनता टाइम्स

१३ फाल्गुन २०७८, शुक्रबार १७:०१

प्रचण्ड र माधवहरुको काम भनेको सत्तामा बस्ने, मन्त्री बन्ने र पद प्राप्ति मात्रै हो, कुनै सिद्धान्न छैन : काँग्रेस नेता रिजाल


काठमाडौं, १३ फागुन । कांग्रेस नेता मिनेन्द्र रिजालले कांग्रेस र एमालेबीच कुनै सहकार्य नहोस् भनेर गठबन्धन दलहरूले योजना बनाइहरेको आरोप लगाउनुभएको छ । अमेरिकासँगको एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्नेबारे सत्ता गठबन्धनमा मतभेद बढिरहेका बेला नेता रिजालले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जसरी पनि एमसीसी असफल बनाउने योजना बनाएको बताउनुभयो ।

‘द्वन्द्वका बेला उहाँहरू पूर्वमा सानो पटका पड्काएर पश्चिममा आक्रमण गर्नुहुन्थ्यो, अहिले त्यही प्रयास भइरहेको देखिन्छ । सैद्धान्तिक छलफलका क्रममा कांग्रेस र एमालेबीच स्वच्छ लोकतान्त्रिक पद्धति निर्माण गर्ने सहमति नबनोस् भन्ने चाहेको देखिन्छ,’ नेता रिजालले भन्नुभयो ‘सैद्धान्तिक छलफलका बेला कांग्रेस र एमालेबीचको पुलमा आगो लगाउने र दफावार छलफलका बेला अन्तिम आक्रमण गर्ने योजना उहाँहरूको छ ।’

उहाँले गठबन्धन दलहरूले गठबन्धनलाई केवल सत्तामा बस्ने र मन्त्री पद प्राप्तिको रुपमा मात्रै बुझेको आरोप लगाउनुभयो । ‘सरकारको प्रधानमन्त्री र उहाँको पार्टी एमसीसीको पक्षमा छ, उहाँहरू प्रधानमन्त्रीले राष्ट्रघाती बाटो हिड्नुभयो भनिरहनुभएको छ । प्रधानमन्त्रीले राष्ट्रघाती बाटो हिडेको हो भने उहाँहरू सरकारमै बसिरहन कसरी सुहाउँछ,’ उहाँले भन्नुभयो, ‘यहीबाट पुष्टि हुन्छ, उहाँहरूको लागि गठबन्धन भनेको सत्तामा बस्ने, मन्त्री बन्ने र पद प्राप्ति मात्रै हो, यसको कुनै सिद्धान्न छैन ।’ नेता रिजालले सरकारको एजेन्डालाई राष्ट्रघाती भनेर सरकारमै बसिरहन नमिल्ने बताउनुभयो । ‘यदि उहाँहरूको गठबन्धनप्रतिको कुनै सिद्धान्त भएको भए एमसीसी कि राष्ट्रहितमा छ या त राष्ट्रहित विपरीत छ । राष्ट्रघाती भन्ने र राष्ट्रघाती होइन भन्नेहरू एउटै सरकारमा बसिरहन कसरी मिल्छ ?,’ उहाँले प्रश्न गर्नुभयो । नेता रिजालले माओवादी र समाजवादीले अहिले कांग्रेस र एमालेबीचको सहकार्यलाई रोकेर फेरि बामगठबन्धन ब्युँताउन चाहेको आरोप लगाउनुभयो । ‘अहिले एमसीसीमा उल्झन गराइरहने, यसलाई बिफल बनाउने र केही महिनापछि फेरि बाम गठबन्धन ब्युँताउने उहाँहरूको चलखेल हो,’ रिजालले भन्नुभयो , ‘हामीले सजग हुन आवश्यक देखेको छु ।’

रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमाले समीकरणकालागि संवाद गर्ने भूमिका दिलाउनुभएको थियो । गठबन्धनमा एमसीसी पास गर्न साथ नपाउने भएपछि प्रधानमन्त्री देउवाले पनि एमालेसँगको संवादलाई प्राथमिकतामा राख्नुभएको थियो । बिहीबार मात्रै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीसहित नेताहरूसँग चरणवद्व छलफल गर्नुभएको थियो ।