जनता टाइम्स

१४ फाल्गुन २०७८, शनिबार १४:३८

ओलीको व्यंग्य : सडकमा नफाल्न देउवासँग प्रचण्ड–माधवले हारगुहार गरेछन्


काठमाडौं, १४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाल गठबन्धन जोगाइदिनुस्, हामीलाई सडकमा नफाल्नुस् भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हारगुहार गरिरहेको टिप्पणी गर्नुभएको छ ।

पिपिएलएको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसीलाई प्रचण्ड–माधवले नै गिजोलेको र उहिल्यै पास गर्न खोज्दा केपी ओलीले जस लिने देखेर सभामुख लगाएर रोक्दा अराजक शक्तिले खेलेर विवादित बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘एमसीसी हामी पास गर्छौ, ओलीलाई जस दिनु हुँदैन भनेर प्रचण्डले नै हारगुहार गरेका हुन् । देउवाले गठबन्धन तोड्ने भनेपछि हिजो कुद्दै गएर प्रचण्ड–माकुनेहरु हामी एमसीसी पास गर्छौं गठबन्धन जोगाइदिनुस् । हामीलाई सडकमा नफाल्दिनुस् प्रभु भनेर हारगुहार गरेपछि प्रधानमन्त्रीले हेर्छु कति इमानदार रहेछौ भनेर पठाएका छन् ।’

एमाले अध्यक्ष ओलीले एमसीसीबारे संसदमा धारणा राख्न एमालेलाई ठाउँ नदिइएकाले यसबारेमा बाहिर बोल्नुको अर्थ नरहेको बताउनुभयो । उहाँले सभामुख अग्नि सापकोटाका कारण एमाले संसदको कारवाहीमा भाग लिन नसक्ने ठाउँमा रहेको बताउनुभयो ।