काठमाडौं, फागुन १५ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आइतबार विहान पार्टीले गरेको ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाउनुभएको छ । यसअघि एमसीसीको विरोध गर्दै आएको माओवादी केन्द्रले आइतबार विहान बसेको बैठकमा ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । ‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जनाकारी गराउनु भएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,’ श्रेष्ठले ट्वीटरमा लेख्नुभएको छ ।
माओवादी केन्द्रले यसअघि एमसीसीलाई हालकै अवस्थामा अनुमोदन गर्न नसकिने निर्णय गरेको थियो । एमसीसी सम्झौताको केही बुँदा संशोधन गरेर मात्र अनुमोदन गर्ने अडान माओवादीले लिएको थियो ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको बिपक्षमा मतदान गरे गठबन्धन तोड्ने बताएपछि माओवादीको आजको बैठकले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो । ‘आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं । यो महाधिवेशनको बिरुद्ध छ र गलत छ,’ श्रेष्ठले भनेका छन् ।













प्रतिक्रिया दिनुहोस्