जनता टाइम्स

२२ असार २०७६, आईतवार ०८:४१

सार्वजनिक जग्गामा निजी घर बनाएपछि !


काठमाडौं, असार २२

कीर्तिपुर नगरपालिका–५ मा सार्वजनिक जग्गा र सांस्कृतिक सम्पदासमेत मिचेर बनाएको भन्दै स्थानीयवासीले एउटा निजी घरको केही अंश भत्काएका छन् । स्थानीयवासीले पटक–पटक सार्वजनिकस्थल मिचेर घर नबनाउन गरेको आग्रहलाई घरधनीले अटेर गरेपछि शनिबार जम्मा भएको भीडले घरको केही अंश भत्काएको हो ।

झापा घर भएकी सानु धिमालले गोरेटोबाटो, सांस्कृतिक महत्वको कुवा, खानेपानीका पाइपलाइनमाथि घर बनाएको भनाइ स्थानीयवासीको छ । नापी कार्यालय कलङ्कीका अनुसार, धिमालको जग्गा कित्ता नं. ४८८ हो । वि.सं. २०७१ असार २१ गते सानु धिमालले पाँच आना तीन पैसा एकदाम जग्गा आफ्नो नाममा पास गरेको देखिन्छ । अहिले त्यही जग्गामा बाटो, कुवा र पाइपलाइनसमेत गाभेर छ आना दुई पैसा तीन दाम बनाई नक्सा सुधार गरेको पाइएको छ । त्यही जग्गामा घरको जग हाल्न थालेदेखि नै स्थानीयले विरोध गर्दै आएका थिए ।

कीर्तिपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष राजेन्द्र महर्जनले वडा कार्यालय र नगरपालिकाले समेत पटक पटक सचेत गराए पनि अटेर गरी घर बनाउन थालेको बताउनुभयो । स्थानीयवासीको गुनासो रस्थानीय सरकारको चेतावनीलाई समेत बेवास्ता गरेर घरको गारो उठाएपछि स्थानीयले हस्तक्षेप गरी सार्वजनिक स्थलमा पर्ने भाग भत्काउने निष्कर्ष निकालेका हुन् ।

आर्थिक वर्ष २०६३÷६४ मा भत्केपाटी नगाउँ उपभोक्ता समितिका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले विच्छ्याको पाइपलाइन नयाँ बनेको घरको जगमुनि परेको छ । त्यस्तै, स्थानीयले पुस्तौँदेखि प्रयोग गर्दै आइरहेको गोरेटो बाटोसमेत मेटेर घरर इनार बनाइएको छ । सो कुवामा स्थानीयको किरिया चोख्याउने परम्परा रहेको ८० वर्षीय स्थानीय रण बहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो गोरेटोबाटो मच्छेगाउँ, भत्केपाटीलगायत गाउँका मानिसको मलामी जाने बाटो हो । हामीले यस्तो सम्पदा र सार्वजनिक सम्पत्ति अतिक्रमण नगर्न पटक पटक भन्दा नटेरेपछि भत्काउन बाध्य भएको हो ।’

पछिल्लो नक्सामा बाटो र कुवा नदेख्दा आफूहरू आश्चर्यमा परेको स्थानीय बताउँछन् । वडाध्यक्ष महर्जनका अनुसार, २०२१ सालको पुरानो नक्सामा कित्ता नं. २०५ माकुवा रहेको र फिल्ड बुकमा समेत कायम भएको स्पष्ट उल्लेख छ । पछिल्लो नक्सामा कुवासमेत गाभी ४८८ कि.नं. मा समावेश भएको जानकारी नापी कार्यालय, कलङ्कीले दिएको छ । नक्सामा नभए पनि बाटो अहिलेसम्म प्रयोगमा रहेको र खानेपानीको पाइपलाइन समेत चालू नै रहेको उहाँले जानकारी दिनुभयो ।

कुवाको जग्गा खाए पनि बाटो र पाइपलाइनको तीन फिट जग्गामा क्षति नपु¥यान आग्रह गर्दा ‘म प्रधानमन्त्रीको मान्छे हुँ । कसले रोक्न सक्छ मलाई ?’ भन्दै जनप्रतिनिधिलाई समेत धम्की दिने गरेको अध्यक्ष महर्जनले बताउनुभयो । यसअघि नगरपालिकाका प्रमुख र उपप्रमुखसहितले निरीक्षण गरी सार्वजनिक जग्गा मिचेर घर नबनाउन आग्रह गर्नुभएको थियो । यसबारे घर मालिक धिमाल भन्नुहुन्छ, ‘२०६५ सालको नक्साअनुसार नै हामीले घर बनाउन थालेका हौँ, अरू कुरा थाहा छैन ।’ (गोरखापत्र)