जनता टाइम्स

२२ असार २०७६, आईतवार ०९:००

मन्त्री सोनल उपस्थित कार्यक्रमै ठेकदारले भने : तपाईले २०% कमिसन लिएर योजना पास गरेपछि भ्रष्टाचार नभएर के हुन्छ ?


जनकपुर, असार २२

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र स्थानीय निर्माण व्यवसायीहरूबीच टेन्डर प्रक्रिया र कमिसनको विषयमा जुहारी चलेको छ। निर्माण व्यवसायीहरूले मन्त्रीमाथि विकास बजेटमा ब्रह्मलुट गराएको आरोप लगाए भने मन्त्री सोनलले ठेकेदारहरूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक वहन नगरेको टिप्पणी गर्नुभयो ।

मन्त्रालयको सहयोगमा शनिबार जनक मिडिया प्रालिद्वारा जनकपुरमा आयोजित ‘बहुआयामिक विकासका लागि जनचेतना अभिवृद्धि’ विषयक एक दिवसीय गोष्ठीमा मन्त्री र ठेकेदारबीच जुहारी चलेको हो। कार्यक्रमका दर्जनौं सहभागीबीच निर्माण व्यवसायीहरूले कमिसनबिना कामै नदिएको भन्दै मन्त्री सोनलको चर्को आलोचना गर्नुभयो । ‘तपाईं (मन्त्री सोनल) आफैंले १०\२० प्रतिशत कमिसन लिएर योजना पास गरेपछि भ्रष्टाचार नभएर के हुन्छ ?’ स्थानीय निर्माण व्यवसायी रमेश यादवले भन्नुभयो, ‘अर्बौं रुपैयाँको बजेटलाई टुक्रे योजना बनाएर कोटेसनमा काम दिन कुन कानुनको प्रयोग गर्नुभयो ?’

भौतिक पूर्वाधार विकासको काममा भ्रष्टाचार बढेको भन्दै स्थानीय निर्माण व्यवसायीहरूले ¥याख¥याख पारेपछि मन्त्री सोनल अत्तालिएका थिए । एकपछि अर्को ठेकेदारले विकास बजेट परिचालन प्रक्रियाप्रति विरोध जनाउन थालेपछि मन्त्री सोनलले विषयान्तर भइरहेको भन्दै कार्यक्रम सञ्चालकलाई माइक खोस्न लगाएका थिए । त्यसपछि झनै आक्रोशित बनेका निर्माण व्यवसायीहरू कार्यक्रम बहिष्कार गर्दै हिँड्न थालेपछि आयोजक सदस्यहरूले उनीहरूलाई थामथुम पारेका थिए।

जवाफमा मन्त्री सोनलले ठेकेदारहरूको ढिलासुस्ती र लापर्बाहीले विकास निर्माणको काम गुणस्तरहीन र समयमा सम्पन्न हुन नसकिरहेको आरोप लगाउनु भयो । ‘सार्वजनिक खरिद ऐनमा सुधार नल्याएसम्म राम्रो काम गर्न कठिन छ,’ उहाले भन्नुभयो, ‘सबभन्दा न्यून कबोल रकम दाबी गर्ने ठेकेदारले काम पाउँछन्, पछि कि काम अधुरै छाडेर भाग्छन् कि गुणस्तरहीन काम गरेर बजेटको दुरुपयोग गर्छन्।’ सार्वजनिक खरिद ऐनलाई परिमार्जन गरी काम गर्ने हैसियत भएका ठेकेदार कम्पनीको पहिचान गरेर मात्र काम दिनुपर्ने प्रावधान ल्याउन प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ थियो। आफूमाथि लागेको कमिसन आरोपबारे भने मन्त्री सोनलले एक शब्द पनि बोल्नु भएन ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद शत्रुधन महतोले पनि प्रदेश सरकारको बजेटमा व्यापक भ्रष्टाचार भइरहेको आरोप लगाउनु भयो । ‘आज सप्तरीमा राजपाका दुई नेता किन जेलमा छन् ?’ उहाले भन्नुभयो, ‘तिनीहरूले कसरी करोडौं रुपैयाँको बजेट कसरी आफूखुसी चलाइरहेका थिए ? यसको विश्लेषणपछि भ्रष्टाचारको अवस्था सहजै बुझ्न सकिन्छ।’ पहिलेजस्तो सरकारले बजेट नदिएर मधेसको विकासलाई पछाडि धकेलिदिएको आरोप लगाउनेको गुन्जायस नरहेको चेतावनी दिँदै महतोले थप्नुभयो, हिजोसम्म केन्द्र सरकारलाई गाली गर्ने प्रदेश सरकारको काम र कर्तव्य जनताले नियालिरहेका छन्।’