जनता टाइम्स

१८ फाल्गुन २०७८, बुधबार ०८:१२

प्रचण्ड एमसीसी पासगर्नमा सहमति हुनुको भित्री रहस्य खोले नेता विजुक्छेले


भक्तपुर, फागुन १८ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संगीन आरोप लगाउनुभएको छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध गर्दै आएका प्रचण्डले अन्ततः सहमति जनाएपछि गत आइतबार संसदबाट पारित भएको छ। विजुक्छेले यो घटनालाई तत्कालीन माओवादीको आह्वानमा भएको सशस्त्र द्वन्द्वसँग जोड्नु भएको छ । ‘युद्धको नाममा १७ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रास’ले एमसीसीमा सहमति जनाएको विजुक्छेले जिकिर गर्नुभयो ।

भक्तपुरको न्हुः पुखु (रानीपोखरी) को मंगलबार उद्घाटन गर्दै बिजुक्छेले प्रचण्डको त्रासकै कारण एमसीसी पास भएको बताउनुभयो । जनताको इच्छाविपरीत संसदले हतारहतार एमसीसी पास गर्नु दुःखद् भएको भन्दै उहाँले त्यसकाविरुद्ध पार्टीले देशभर विरोधसभा गरेको बताउनुभयो । एमसीसी नेपाल र नेपालीका लागि घातक हुने उहाँको भनाइ छ ।