काठमाडौं, १८ फागुन । सत्तारूढ नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच अहिले (बुधबार बिहान) भेटवार्ता भइरहेको छ।
श्रेष्ठ निवास हरिसिद्दिमा दुई नेताबीच ५ मिनेट अघिदेखि छलफल भइरहेको हो। प्रतिनिधि सभाबाट अमेरिकी सहायता सम्झौता अनुमोदनमा आफ्नो पार्टी पनि संलग्न भएपछि नेता श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट हुनुहुन्छ। यसबीच प्रचण्डले श्रेष्ठबारे टिप्पणी गर्दै चित्त नबुझे पार्टी छाड्न पनि सकिने भन्नुभएको थियो।
यहीबीच विप्लव पार्टी एकता गर्ने प्रस्ताव लिएर श्रेष्ठकहाँ पुगेको स्रोतले जनाएको छ। यसअघि मंगलबार श्रेष्ठ फकाउन प्रचण्ड उहाँको निवास पुग्नुभएको थियो। श्रेष्ठले पूर्वएकता केन्द्र ब्युँताउने तयारी गरिरहेका बेला विप्लवले उहाँसँग भेटवार्ता गर्नुभएको हो । सुरुमा एमसीसी संशोधन र परिमार्जन नगरी संसदबाट अनुमोदन गर्न नहुने अडान लिइरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धन जोगाउन ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्न सहमत भएका हुन्। सोही सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सहकार्यका लागि एमालेसँग जारी वार्ता रोक्नुभयो । गत आइतबार प्रतिनिधि सभाबाट एमसीसी बहुमतले पारित गराउनुभयो ।
विप्लव नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले एमसीसी खारेज गरिनुपर्ने माग राखेर संयुक्त रूपमा सडक आन्दोलनदेखि नेपाल बन्दसम्मका कार्यक्रम गरिरहेका छन्। एमसीसी अनुमोदन गरिएपछि विप्लवले पनि प्रचण्डको आलोचना गरिरहेका छन्।













प्रतिक्रिया दिनुहोस्