जनता टाइम्स

१८ फाल्गुन २०७८, बुधबार २२:०७

व्याख्यात्मक टिप्पणी सरकारमा टाँसीरहने बाटो : नेता रिजाल



मोरङ, फागुन १८। कांग्रेस नेता मीनेन्द्र रिजालले एमसीसीको व्याख्यात्मक टिप्पणीले कम्युनिस्ट नेतालाई सरकारमा बसिरहने बाटो मात्रै भएको बताउनुभयो । विराटनगरमा बुधबार पत्रकारसँगको कुराकानीमा उहाँले सरकार नछाड्नेका लागि मात्रै व्याख्यात्मक टिप्पणी उपलब्धि भएको बताउनुभयो ।

व्याख्यात्मक टिप्पणीले एमसीसी सम्झौता गिजोल्ने कम्युनिस्ट नेताहरुको इज्जत जोगाउने काम मात्रै भएको रिजालको भनाइ थियो । उहाँले यो विषयमा एमसीसी र नियोगका मानिससँग पहिले नै कुरा भएको बताउनुभयो । उहाँले एमसीसी सम्झौतामा नलेखेका कुरा केही पनि व्याख्यात्मक टिप्पणीमा नलेखिएको दावी गर्नुभयो।

‘व्याख्यात्मक टिप्पणीले एमसीसीलाई परिमार्जन पनि गर्दैन र अमेरिकाले यसलाई हेरेर मान्छु वा मान्दैनौं भनेर भन्नु पनि पर्दैन,’ उहाँले भन्नुभयो, ‘कम्युनिस्ट राजनीतिबाट यहाँसम्म आइपुगेका नेतालाई र यतिका दिनसम्म जसरी एमसीसीलाई गिजोलियो त्यसमा केही नभनी वहाँहरुको सम्मान पनि जोगाइदिनुपर्ने भएकाले मात्रै व्याख्यात्मक टिप्पणी आएको हो ।’

लामो समयको राजनीति गरेका प्रधानमन्त्री देउवाले एउटा लचकता प्रदर्शन गरेर कम्युनिस्ट नेताहरुको इज्जत जोगाइदिन र एमसीसी अनुमोदन प्रक्रिया अगाडि बढाउन मात्रै व्याख्यात्मक टिप्पणी आएको रिजालको भनाइ थियो । अहिलेको सत्तारूढ गठबन्धन निर्वाचनसम्मका लागि नभएको उहाँले प्रस्ट पार्नुभयो । उहाँले गठबन्धनको उपादेयता सकिएको दिन भंग हुने बताउनुभयो ।