जनता टाइम्स

२० फाल्गुन २०७८, शुक्रबार १७:४०

सङ्घीय सरकारले सम्पदा संरक्षणमा चासो दिएन : विद्यासुन्दर शाक्य


काठमाडौं, फागुन २० । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदाहरुको संरक्षणमा सङ्घीय सरकारले चासो नदिएको गुनासो गर्नु भएको छ ।

मेयर शाक्यले सम्पदाहरुको संरक्षण गर्ने दायित्व सङ्घीय सरकारको भए पनि त्यसअनुसार काम नगरेको बताउनु भएको हो ।आज काठमाण्डौको भोटाहिटीमा रहेको अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले सहयोग नगरे पनि काठमाण्डौ महानगरपालिकाले सबै सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाएको दाबी गर्नुभयो ।उहाँले महानगरपालिकाले सम्पदाहरुको पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको जिम्मा भने स्थानीय गुठीहरुलाई नै दिने नीतिअनुसार काम भइरहेको बताउनुभयो ।

आँगन घर पुनर्निर्माणका लागि काठमाण्डौ महानगरपालिकाले ७६ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । यहीअनुसार पहिलो किस्ताबापत २५ लाख ११ हजार रुपैयाँ निकासा भएको र पुनर्निर्माणको कामको पनि शुभारम्भ गरिएको पुनर्निर्माण समितिका सचिव तीर्थ महर्जनले जानकारी दिनुभयो ।समितिका अनुसार आँगन घरको पुनर्निर्माणका लागि करिब साढे १ करोड रुपैयाँ बजेट लाग्नेछ । दुई वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी अघि बढाइएको पुनर्निर्माण समितिले जनाएको छ ।