ताप्लेजुङ, फागुन २१ । ताप्लेजुङ जिल्ला अस्पतालमा बिहीबार बेलुका साढे १० बजेतिर अस्पतालको कोठामा पसेको हिमाली कालो भालुलाई थुनिएको छ । थुनिएको भालुले अझै दुई रात अस्पतालमै बिताउनुपर्ने भएको छ । उद्धारका लागि वन्यजन्तुको प्राविधिक टोली चितवनबाट बोलाइएको छ ।
टोली आइतबार मात्रै आइपुग्ने भएकाले भालुको अस्पताल बसाइ लम्बिने भएको हो ।बिरामी सुतेको मौका पारेर शुक्रबार राति ढोका खोलिदिएर भालुलाई बाहिर पठाउने कि प्राविधिक टोली बोलाउने भन्ने विषयमा छलफल भएको थियो । अस्पतालमै छोड्दा सेवाग्राही आतंकित हुने भएकाले टोली नै बोलाउने निष्कर्षमा पुगेको डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख वीरेन्द्र साहले बताउनुभयो। उहाँका अनुसार शुक्रबार तयारी पूरा गरेर प्राविधिक टोली शनिबार बिहानै चितवनबाट हिँड्ने भएको छ । वन्यजन्तुलाई बेहोस बनाएर उद्धार गर्ने टोली चितवन, बर्दिया र काठमाडौंमा मात्रै छ । उद्धार टोलीमा एक भेटेरिनरी डाक्टर, एक वन्यजन्तु विज्ञ र २र३ जना फिल्ड स्तरको कर्मचारी हुन्छन् ।‘डाक्टरले भालुलाई लठ्याउँछन् र अरूले उद्धार गरेर जंगलमा लगेर छोडिदिन्छन्,’ साहले भन्नुभयो ।

भालुको बासस्थान मिल्ने जंगलमा लगेर छोडिदिने उहाँले बताउनुभयो । एकै दिनमा पुग्न कठिन हुने भएकाले प्राविधिक टोली आइतबार आएर तुरुन्तै उद्धार गर्ने योजना रहेको जानकारी उहाँले दिनुभयो। कहाँ लगेर छोड्ने भन्ने टुंगो भइसकेको छैन । त्यतिञ्जेलसम्मका लागि त्यही कोठामा मासु दिएर राखिने छ ।भालुलाई शुक्रबार बिहान बंगुरको ५ केजी मासु दिएको वन कार्यालयका ललित साहले बताउनुभयो ।
‘खाट मुन्तिर लुकेर बसेको छ । भालुले मासु त्यहींबाट तानेर खाएको थियो,’ उहाँले भन्नुभयो । बिहीबार बेलुका जिल्ला अस्पतालका स्वास्थ्यकर्मी रेशा श्रेष्ठ लावतीले क्वार्टर फर्कंदै गर्दा भालु देख्नुभएको थियो । ‘क्वार्टर फर्कंदै थिएँ, मेरो अलिक अगाडि सिँढीबाट झर्दै थियो,’ उहाँले भन्नुभयो न्, ‘मनमनै कत्रो कुकुर रहेछ भन्दै उकालो गएँ, भरे पो भालु भालु भनेपछि मलाई नि डर लाग्यो ।’ उहाँका अनुसार भालु डाक्टरहरूको क्वार्टर नजिकैबाट ओरालो झरेको हो ।अस्पतालभित्र भने बिरामीका कुरुवाले त्यसलाई फोहोर खाँदै गरेको देखेका थिए । अस्पतालका कर्मचारी गोपाल आचार्यका अनुसार ती कुरुवाले ‘कत्रो कुकुर पस्यो ,’ भनेपछि अरू चार÷पाँच जनाले गएर हेर्दा भालु भनेर ठम्याए । तत्काल चेनगेट लगाएर बिरामी भएतिर पस्ने ठाउँ बन्द गरिदिए । त्यसपछि प्रहरीलाई खबर गरे । प्रहरी, कर्मचारी, कुरुवा पुग्दा भालु प्रसूति कक्षमा पसिसकेको थियो । चेनगेट खोलेर भित्र पसेको प्रहरीले तत्काल बाहिरबाट ढोका लगाएर भालुलाई थुनेको थियो ।













प्रतिक्रिया दिनुहोस्