जनता टाइम्स

२१ फाल्गुन २०७८, शनिबार ०७:५३

भ्रमबाट टाढा रहन नेपाली सेनाको आग्रह


काठमाडौं, २१ फागुन । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा नेपाली सेनासँग जोडेर कपोकल्पित सन्देश सम्प्रेषण भइरहेको भन्दै सैनिक मूख्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले एक सूचना जारी गर्दै केही समय यता सैनिक मूल नेतृत्व एवं नेपाली सेनाका गतिविधिसँग सम्बन्धित फरक प्रसंग र अवसरको फोटो तथा भिजुअल क्लिप प्रयोग गरी विभिन्न संवेदनशील विषयहरुमा भ्रम छर्ने काम भइरहेको जनाएको छ ।आफ्नो निहीत स्वार्थ र नियत पूरा गर्न आम जनमानसमा भ्रम छर्ने उद्देश्यले विभिन्न संचारमाध्यमहरु विशेष गरी अनलाइन मिडिया तथा सामाजिक सञ्‍जाल (फेसबुक, टिकटकआदि) मा नक्कली परिचय बनाई भ्रामक एवं कपोकल्पित समाचार एवं सन्देश सम्प्रेषण भइरहेको भन्दै सेनाले गम्भीर ध्यानार्षण भएको जनाएको हो ।

देश र जनतालाई केन्द्रविन्दुमा राखि संविधान ऐन कानुनको परिधिभित्र बसी कानुन एवं विधि सम्मत चल्ने अराजनैतिक छवि भएको संस्थाको प्रतिष्ठा र नेतृत्वको निष्ठा एवं मर्यादामा समेत गम्भीर आघात पुर्‍याउने यस किसिमका अनर्गल प्रचार प्रसारहरुप्रति नेपाली सेना खेद प्रकट गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । यस्ता भ्रमहरुबाट टाढा रहन र अरुलाई पनि टाढा राख्‍न लगाउन सेनाले अपिल गरेको छ ।