जनता टाइम्स

२१ फाल्गुन २०७८, शनिबार १७:१४

शिवनाथमा रित्तिदै समाजवादी, तीन वडाध्यक्षसहित १५६ जना एमालेमा प्रवेश


महेन्द्रनगर, फागुन २१ । बैतडीको शिवनाथ गाउँपालिकाका १३ जना जनप्रतिनिधिले नेकपा एमाले प्रवेश गर्नुभएको छ । एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा खुलेका ३ वडा अध्यक्षसहित ९ सदस्य र कांग्रेसबाट निर्वाचित वडा सदस्यले एमाले प्रवेश गर्नुभएको हो ।

शनिबार गाउँपालिका स्तरीय भेलामा शिवनाथ गाउँपालिका वडा नं. १ का अध्यक्ष करन पार्की, वडा नं. २ का अध्यक्ष हजारी साउँद, वडा नं.३ का अध्यक्ष बिरबहादुर साउँद र वडा नं. ४ की वडा सदस्य पाना तिरुवाले एमाले प्रवेश गरेको सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार तिरुवा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । ‘विभिन्न पार्टी परित्याग गरी १ सय ५६ जनाले एमाले रोजेका छन्,’ उहाँले भन्नुभयो , ‘कांग्रेसबाट मात्रै २६ जना एमालेमा आएका छन् ।’ वडा अध्यक्ष हजारी एमाले बैतडीका निर्वतमान उपाध्यक्ष हुनुहुन्छ । उहाँ समाजवादीका प्रदेश सदस्य समेत हुन् ।