जनता टाइम्स

२२ फाल्गुन २०७८, आईतवार २०:१९

प्रचण्डसंग छेपारो नि लजाउँछ , एस पार्टी अवैध सन्तान – महासचिव पोखरेल


धनकुटा, फागुन २२ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन नेतृत्वको सरकार निर्वाचनबाट भाग्न खोजेको बताउनुभएको छ । उहाँले निर्वाचनबाट भाग्न सरकारले बहानाबाजी गरेको भन्दै कानुनसम्मत रुपमा निर्वाचन गराउनु पर्नेमा जोड दिनुभयो । प्रेस चौतारी नेपाल धनकुटाले आइतबार आयोजना गरेको पत्रकार भेलामा नेता पोखरेलले यस्तो बताउनुभएको हो ।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग तथा एमसीसी लगायतका बहानाबाजीमा सरकारले निर्वाचन नगराउने प्रपञ्च गरेको उहाँको भनाइ छ । यस्तै, गठबन्धन र एमालेबीच हुने निर्वाचन आफुहरुलाई फलामको च्युरा सावित नभएर दहीच्युरा हुने उहाँले दाबी गर्नुभएको छ । ‘गठबन्धन दलले निर्वाचनमा एमालेलाई फलामको च्युरा चखाउने भन्दै हिँडेका भए आगामी निर्वाचन दही च्युरा हुनेछ’, उहाँले भन्नुभयो, ‘गठबन्धन दल एमालेसँग निर्वाचनमा भिड्न डराएर बहानाबाजी गर्दैछन् ।’ फरक प्रसंगमा महासचिव पोखरेलले एमाले नेतृत्वको सरकार हुँदा ४ प्रतिशतमा सिमित रहेको मूल्यवृद्धि वर्तमान सरकारको पालमा ७ दशमलव १ प्रतिशतमा वृद्धि भइसकेको बताउनुभयो ।

अहिले आर्थिक अवस्था मौद्रिक संकुचनको अवस्थामा रहेको भन्दै उहाँले आर्थिक क्रियाकलाप ठप्प रहेको र रेमिटेन्स घट्दो तथा हुण्डी, कालोबजारी बढ्दो रुपमा रहेको भन्दै सरकारको टिप्पणी गर्नुभयो ।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति उहाँले व्यंग्य गर्दै भन्नुभयो , ‘छेपारोले कुरा बुझ्ने भए प्रचण्डको प्रवृत्ति देखेर छेपारो नै लाज मान्थ्यो होला ।’ यस्तै, प्रतिनिधिसभाका सभामुखले गलत बाटो छोड्नु पर्ने भन्दै विधिको बाटो समात्न नसके बाटो छोड्नु पर्ने उहाँको भनाई थियो ।

उहाँले सभामुखले विधीको बाटो नहिड्दा माधव नेपालको पार्टी अवैध सन्तान भएको बताउनुभयो । पोखरेलले प्रदेश नं. १ को राजधानी नामाकरण साझा पहिचानको आधारमा हुनुपर्ने जोड दिनुभयो ।