सुर्खेत, फागुन २३ । जाजरकोटमा रहेको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत हतियार बोकेर गाउँ घुम्ने गरेको तस्वीर सार्वजनिक भएको छ । नेपाली कांग्रेस जाजरकोटका सचिव समेत रहनुभएका बस्नेत हतियार बोकर गाउँ घुम्ने गर्नुभएको हो । स्थानीय तहको निर्वाचन पूर्व गाउँमा हुने गरेका अधिकांश कार्यक्रममा हतियारसहित सहभागी हुन थालेपछि स्थानीय त्रसित भएका छन् र उहाँको आलोचना भइरहेको छ ।
कार्यक्रममा हतियारसहित जाने गरेको प्राप्त तस्विरमा उहाँ मोटरसाइकलमा यात्रारत देखिनुभएको छ । पछाडि पट्टि उनले बन्दुक भिरेको प्रष्ट देखिन्छ ।
‘उहाँको स्वभावै यस्तै हो की जहिल्यै हतियारसहित आसेपासे लिएर हिँड्नुहुन्छ’, एक जनप्रतिनिधिले भन्नुभयो, ‘हामीले त्यस्तो नगर्नुस् भन्दा मान्नु हुन्न, उहाँसँग हिड्न पनि डर लाग्न थालिसक्यो ।’ जनताले जिताएर जनप्रतिनिधिमा हामी निर्वाचित भएकाले अध्यक्ष बस्नेतलाई असुरक्षा हुने कुनै कारण नभएको ति जनप्रतिनिधिको भनाइ छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अध्यक्ष बस्नेतलाई त्यस्तो सुरक्षा जोखिमबारे आफूलाई कुनै जानकारी नभएको बताउनुभयो। ‘उहाँले बोक्नु भएको बन्दुक लाइसेन्स प्राप्त बन्दुक हो ।
उहाँले नेपालगन्जमा दर्ता गराएको भन्ने सुन्नमा आएको छ’, उहाँले भन्नुभयो, ‘लाइसेन्स भएका बन्दुक केही क्षेत्रमा मात्रै बोक्न पाइन्छ । तर सार्वजनिकरुपमा बोकेर हिँड्न पाइदैन ।’ उहाँले हतियारको बारेमा बुझ्न प्रहरीलाई निर्देशन दिइसकेको बताउनुभो।












प्रतिक्रिया दिनुहोस्