काठमाडौं, २३ फागुन । परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनमाथि रुसले आक्रमण गर्दा विश्व शान्ति खल्बलिने सम्भावना बढेकोले नेपाल युक्रेनको पक्षमा उभिनु परेको स्पष्ट पार्नुभएको छ । आज मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले रुसले सार्वभौम तथा स्वतन्त्र राष्ट्रमाथि हस्तक्षेप गरेको आरोप समेत लगाउनुभयो ।
‘विश्व शान्ति खल्बलाउने, ठूला र साना देशको सम्बन्धलाई खल्बलाउने भएको कारण युक्रेनको पक्षमा उभिएका हौं,’ उहाँले भन्नुभयो । रुसले फेब्रुअरी २४ का दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । परराष्ट्र मन्त्रालयले सोही दिन विज्ञप्ति निकालेर रुसलाई राष्ट्रसंघको बडापत्रको सम्मान गर्न भनेको थियो ।
‘हरेक सार्वभौम र स्वतन्त्र राष्ट्रको सार्वभौतिकता र स्वधिनताको सम्मान गर्नुपर्छ । कुनै ठूला देशले साना देशको सार्वभौमिकतामा हस्तक्षेत्र गर्न हुँदैन भनेर जोडदार आवाज उठाएका छौं,’ परराष्ट्रमन्त्री डा. खड्काले भन्नुभयो । असंलग्न नीतिकै आधरमा नेपालले युक्रेनको पक्ष लिएको उहाँले बताउनुभयो । सहअस्तित्व असंलग्न परराष्ट्र नीतिको आधार भएको उहाँले जनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्