काठमाडौं, २४ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । राप्रपा महिला संगठन नेपालद्वारा आयोजित अन्तराष्ट्रिय नारी दिवस तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणासभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
आफू स्थानीय विकासमन्त्री भएको बेलामा स्थानीय तहका हरेक वडामा एकजना महिला सदस्य अनिवार्य गराएको स्मरण गर्दै अहिले देशका हरेक क्षेत्रमा महिलाको उल्लेख्य उपस्थिति देख्दा गौरवान्वित महसुस भएको सुनाउनुभयो ।
राप्रमसं नेपालका नवघोषित अध्यक्ष सुनिता कुरुम्वाङलाई बधाई दिँदै अध्यक्ष थापाले सनातन धर्म र संस्कृतिको रक्षा गरेर नै देश विकास सम्भव छ भनेर जनतामाझ आएको पार्टी राप्रपा नेपाललाई सहयोग गर्ने सन्देश लिएर आम जनताको घर–घरमा राप्रमसं नेपाल पुग्ने आशा र विश्वास व्यक्त गर्दै संगठनलाई वडा तहसम्म पुर्याउन नवगठित केन्द्रीय कार्य समितिलाई उहाँले निर्देशन दिनुभयो ।
धर्मप्रतिको आस्था र विश्वास घट्दै गएका कारण महिला हिंसा, बलात्कार जस्ता अमानवीय कृयाकलापले प्रश्रय पाएको भन्दै अध्यक्ष थापाले यसलाई सच्याएर मुलुकलाई वैदिक सनातन मूल्य र मान्यताको आधारमा हिँडाउन नेपाललाई सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र कायम गराउनुपर्छ भन्ने राप्रपा नेपालको प्रमुख मान्यता रहेको स्पष्ट पार्नुभयो ।
राप्रपा नेपालका विभिन्न भातृ संगठनहरु घोषणा गर्ने क्रम चलिरहँदा आज सुनिता कुरुम्वाङको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको १०१ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा भएको हो ।
नवगठित समितिको उपाध्यक्षमा शैलजा पाण्डे, उर्मिला अधिकारी, विणा शाक्य, धेचिन गुरुङ, विना राणा, मनमिरा श्रेष्ठ, प्रभा केसी र अम्बिका खतिवडा, महासचिवमा सुशिला गिरी, प्रवक्तामा सस्मिता सुवेदी, सचिवमा सरला वि।क।, करुणा शाही, सकुन्तला माझी तथा सहायक कोषाध्यक्षमा उर्मिला राउत विष्ट रहेका छन् ।
कार्यक्रमा राप्रपा नेपालका उपाध्यक्षद्वय जय कमार खड्का, उद्वव पौडेल, सह महामन्त्री ममता राई, केन्द्रीय सदस्य मिरा महर्जन, राप्रविसं नेपालका अध्यक्ष कमल वम रजवार, राप्रयुसंका प्रवक्ता लक्ष्मण कँडेल, ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का प्रथम उपाध्यक्ष आनन्द कुमार रिसाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्