विराटनगर, २५ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले नेकपा सरकारले गरेका कामको विपक्षमा भण्डाफोर अभियान चलाउने भनेसँगै प्रश्न गर्नुभएको छ । मोरङको रंगेलीका मेयर, उपमेयर र वडाध्यक्षसहित माओवादीका सयौं नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले के अब रानीपोखरी र धरहरा भत्काउने हो ? भन्दै प्रश्न गर्नुभयो ।
अध्यक्ष ओलीले अहिलेको पाँच दलिय गठबन्धन सरकारले विकास विरोधी काम मात्रै गरेको आरोप लगाउनुभएको छ । उहाँले एमसीसीको पक्ष र एमालेले सरकारमा हुँदा गरेका कामको विपक्षमा भण्डाफोर अभियान चलाउने भनेकोमा व्यंग्य गर्दै धरहरा पनि भत्काउने ? भन्ने प्रश्न गर्नुभएको हो । एमाले नेतृत्वको सरकारले गरेका कामको भण्डाफोर गर्ने भनेर विकासको विरोध गर्दै हिड्ने ? भन्ने प्रश्न समेत गर्नुभयो ।
उहाँले थप्नुभयो,‘हामीले एकैचोटी ३९६ वटा अस्पतालको सुरुवात गर्यौं, केही अहिले बनिरहेका छन्, केही बजेट अहिलेको सरकारले सारेको छ । हामीले हरेक पालिका सदरमुकाम जोड्ने २६५ सडक एकैपटक शिलान्यास गर्यौं, तीनको पनि बजेट काटिएको छ । विकासविरोधीहरुले गर्ने भण्डाफोर भनेको यही होला ।’
मिल्ने भए सत्ता गठबन्धनका मान्छेहरुले धरहरा र रानीपोखरी पनि भत्काउने भन्दै केपी ओलीको याद आउने कुनै पनि संरचना बन्न नदिने प्रयास भइरहेको उहाँले बताउनुभयो । ओलीले आफ्नो पालामा सडक विस्तार, निर्माण र सुरुङमार्गको काम अघि बढेको भन्दै त्यसलाई रोक्न अदालत प्रयोग गरेर आफ्नो सरकार ढालिएको दावी गर्नुभयो ।
लिम्पियाधुरासहितको नेपालको गुमेको भूभाग समेटर आफूले नक्सा प्रकाशन गरेदेखि नै प्रचण्ड–माधव समूहले आफूलाई सत्ता र पार्टीबाट हटाउन षड्यन्त्र गरेको ओलीको आरोप छ । सो समारोहमा अध्यक्ष ओलीले माओवादीमा अब कोही पनि नरहने भन्दै नेकपा एकताको निरन्तरताका रुपमा खास माओवादीहरुले एमालेकै मूल प्रवाह रोजिरहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्