जनता टाइम्स

२७ फाल्गुन २०७८, शुक्रबार ०९:५२

सर्वोच्चको फैसलाविपरीत थानी आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त


काठमाडौं, २७ फागुन । सर्वोच्च अदालतले गरेको योग्यतासम्बन्धी फैसलाविपरीत सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुधबार तीन जनाको नाम सिफारिस गर्न लगाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीको नियुक्ति गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले थानी, चण्डिकाप्रसाद भट्ट र जीवनप्रकाश सिटौलाको नाम सिफारिस गरेको थियो । गत भदौ २४ मा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले दिएको आदेशको पूर्णपाठमा ‘कुनै पनि सरकारी/सार्वजनिक निकायमा पदाधिकारी वा विज्ञ सदस्य नियुक्ति गर्दा सम्बन्धित विषयमा स्नातक तहको शैक्षिक योग्यता भएको र कम्तिमा १० वर्षका अनुभव भएको मापदण्ड लागू गर्न’ भनिएको छ । सार्वजनिक संस्थानहरुमा गरिने पदाधिकारीहरुको मनोनयन स्तरीय, उत्तरदायित्वपूर्ण, पारदर्शी र विज्ञतामा आधारित हुने गरी कानुन बनाउन पनि सरकारलाई आदेश दिइएको छ ।