पोखरा, फागुन २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्नको लागि सर्वोच्च अदालतले संविधान बाहिर गएर फैसला गरेको बताउनुभएको छ । यस्लाई उहाँले गोरु ब्याएको रुपमा बुझ्नु पर्ने बताउनुभयो । प्रेस चौतारी नेपालको नवौँ महाधिवेशनको शुक्रवार पोखरामा उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले विकासप्रेमी सरकार ढाल्नको लागि त्यतिखेर षड्यन्त्र गरिएको बताउनुभयो ।
‘एकजना न्यायाधीशको इमेल आउँछ अमेरिकाबाट केपी ओलीको सरकार ढाल्नु नै थियो, न्यायाधीशको के बिगारिदिएको थियो ओली सरकारले ? त्यहाँनेर विकास विरोधी षड्यन्त्रको हिस्सेदार थियो । संविधान बाहिर गएर पनि ढाल्नु पर्ने थियो,’ ओलीले भन्नुभयो, ‘गोरु ब्याउँदैन भन्थे ब्यायो सर्वोच्च अदालतमा, यो २०५१ सालमा एकजनाले भनेका थिए । अहिले गोरु ब्यायो मात्र होइन पाँचवटा बाच्छा पायो ।’
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्चमा न्यायाधीशहरूले आन्दोलन गरिरहेको बेला सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाले अमेरिकाबाट एउटा इमेल पठाएको प्रशंग भन्नुहुँदै ओलीले उक्त इमेलमा आफ्नो सरकार ढाल्न न्यायाधीशहरूले खेलेको भूमिका छताछुल्ल भएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्