जनता टाइम्स

२३ असार २०७६, सोमबार ०८:०२

सेनाले गर्यो प्रधानमन्त्रीलाई निर्माणाधीन ‘काठमाडौं–तराई–मधेश द्रुतमार्ग’ बारे जानकारी


काठमाडौं, असार २३ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले आफ्नो व्यवस्थापकीय जिम्मेवारीमा निर्माणाधीन ‘काठमाडौं –तराई–मधेश द्रुतमार्ग’को हालसम्मको प्रगति बारे जानकारी गराएको छ ।

प्रधानमन्त्री ओलीले आइतवार साँझ जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको थियो । उहाँलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा स्वागत गर्नुभएको थियो । द्रुतमार्ग आयोजनाका आयोजना प्रमुखले हालसम्म भएका प्रगति बारे प्रस्तुतिकरणमार्फत जानकारी गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, मुख्य सचिव लोकदर्शन रेग्मी, रक्षा सचिव रेश्मीराज पाण्डे तथा सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो ।