जनता टाइम्स

२७ फाल्गुन २०७८, शुक्रबार २१:११

देशलाई सङ्कटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प छैन : अध्यक्ष थापा


काठमाडौं, २७ फागुन । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले देशलाई सङ्कटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गर्नुभएको छ । आज शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो दाबी गर्नुभएको हो । उहाँले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको बताउनुभयो ।

अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरू राजनीतिक दलहरूको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको आरोप लगाउनुभयो । उहाँले नेपालको राष्ट्रिय राजनीति सङ्कटको चक्रव्यूहमा फसेको बताउँदै सरकार प्रभावहीन बनेको बताउनुभयो ।अध्यक्ष थापाले भन्नुभयो, ‘अब देशलाई सङ्कटबाट मुक्त तुल्याउनका निम्ति ताजा जनादेश हो । चाँडो भन्दा चाँडो चुनावमा जानु नै सबैभन्दा उपयुक्त विकल्प हो ।

राप्रपा नेपाल अहिले युद्धस्तरमा सङ्गठन निर्माणको तयारीमा छ ।’अध्यक्ष थापाले आउँदो स्थानीय तहको चुनावमा राप्रपा नेपाल सहभागी बन्ने र राप्रपा नेपालको प्राथमिकता स्थानीय चुनाव नभइ संसदीय चुनाव भएको बताउनुभयो । उहाँले आउँदो चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने पनि दाबी गर्नुभयो ।