काठमाडौं, चैत्र २ । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले वर्तमान पाँच दलीय गठबन्धनलाई ठगको संज्ञा दिनुभएको छ । उहाँले यो गठबन्धनबाट मधेशलाई मुक्त गर्नुपर्ने बताउनुभयो ।
रौतहटको माधव नारायण नगरपालिका, माधोपुरमा आयोजित नगर अधिवेशनलाई सोमबार सम्बोधन गर्दै पूर्वमन्त्री साहले भ्रष्टाचार र लुटतन्त्रमा लिप्त गठबन्धनका कारण राजनीति गन्हाएको बताउनुभयो । पूर्वमन्त्री साहले गठबन्धन सरकार आएदेखि देशमा अराजकता, बेथिति, महङ्गी र अपराध बढेको बताउँदै यसलाई बिदाई गर्नुपर्ने बताउनुभयो । गठबन्धनले केन्द्रदेखि स्थानीय तहसम्म एमाले सरकारले अगाडि बढाएका जनमैत्री कार्यहरु रोक्ने काम गरिरहेको उहाँको आरोप छ ।
उहाँले लोकतान्त्रिक प्रक्रियाबाट नभई अदालतको सेटिङबाट जन्मिएको गठबन्धन सरकारले लोकतान्त्रिक मुल्य र मान्यताको खुलेआम हत्या गरिरहेको उहाँको आरोप छ । आवधिक चुनाव नगर्ने, न्यायाधीशलाई सेटिङ गरेवापत मन्त्री पद दिने, भ्रस्टाचार गर्नेलाई जोगाउन आन्दोलन गर्ने गठबन्धनलाई अविलम्ब बिदाइ गर्नुपर्ने उहाँले बताउनुभयो । तपाईँहरु हेर्न सक्नुहुन्छ अहिले देशमा पाँच दलीय सरकारले खुलेआम लोकतन्त्रको हत्या गरिरहेको छ ।
दुनियाँमा लोकतन्त्र मान्ने देशमा जनताले प्रतिनिधिमार्फत सरकार बनाउछ । तर हाम्रो देशमा जनविरोधी तत्वहरु सम्मीलित गठबन्धनलाई अदालतको सेटिङमा सरकार बनाइएको छ, उहाँले भन्नुभयो –सरकार बनाएवापत न्यायाधीशलाई मन्त्री पद दिइरहेका छन्। अदालतले सघाएसम्म ठीक पछि महाअभियोग लगाउने काम पनि यही गठबन्धनले गरिरहेको छ।













प्रतिक्रिया दिनुहोस्