जनता टाइम्स

४ चैत्र २०७८, शुक्रबार ०८:४७

कांग्रेस सडकमा पुर्‍याउन सक्छौं भन्दै माओवादी केन्द्रका नेता पुनले दिए चेतावनी


बुटवल, ४ चैत । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले पाँच वर्षका लागि सडकमा पछारिएको नेपाली कांग्रेसलाई आफूहरुले बुई चढाएर सत्तामा पुर्‍याएको टिप्पणी गर्नुभएको छ ।

तर कांग्रेस नेताहरुमा उन्माद देखिएको भन्दै उहाँले फेरि सत्ताबाट सडकमा पुर्‍याउन सक्ने बताउनुभएको छ । माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले माओवादी केन्द्र र सत्ता गठबन्धन आवद्ध अरु दललाई सार्वजनिक टिप्पणीमार्फत नहेप्न चेतावनी दिनुभएको हो ।

‘कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन्,’ पुनले भन्नुभयो , ‘हामी सरकार बनाउन सक्छौं, भत्काउन सक्छौं ।

सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्‍याउने ताकत हामीसँग छ । कांग्रेस नेताहरुले बुझ्न जरुरी छ ।’उहाँले चुनावी गठबन्धनविरुद्ध रहेका कांग्रेस नेतालाई ०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाव दिनुभयो ।काँग्रेसका नेताहरुलाई वास्तविक शक्ति सम्झिएर के बोल्ने÷के नबोल्नेबारे विचार गर्न आग्रह गर्नुुभयो ।