जनता टाइम्स

४ चैत्र २०७८, शुक्रबार १३:०२

प्रभु साह फसाउने षडयन्त्रबिरुद्ध एमाले रौतहटले दियो अनिश्चितकालीन जिल्ला बन्दको चेतावनी


रौतहट, चैत ४ । सरकारले एमाले नेता प्रभु साहलाई नियोजित रुपमा फसाउन खोजेपछि रौतहट एमाले प्रतिवादमा उत्रिएको छ । गाडी दुर्घटनाको विषयमा नेता प्रभु साहको नाम जोडेर बदनाम गर्न खोजिएको भन्दै नेकपा एमाले रौतहटले प्रतिवाद गरेको हो ।
गठबन्धन सरकारले एमाले पार्टी पंक्ति र नेता प्रभु साहलाई बदनाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै शुक्रबार जिल्ला अध्यक्ष त्रिभुवन साह ‘अमर’ ले प्रेस विज्ञप्ति निकालेर अनिश्चितकालीन जिल्ला बन्द गर्ने चेतावनी दिनुभएको छ ।

उहाँले स्थानीय प्रशासनले षडयन्त्र गरेको भन्दै छानबिन गरी कारवाही गर्न गृह मन्त्रालयलगायत माथिल्लो निकायको ध्यानाकर्षण गराउनु भएको छ । गाडी दुर्घटनाको विषयमा एमाले स्थायी कमिटी सदस्य प्रभु साहको नाम जोडेर सीडीओ र एसपीलगायतका प्रशासनले बदनाम गरिरहेको अध्यक्ष साहको भनाइ छ । दुर्घटना बेलाका चालक समातिँदा समेत दोषी चालकलाई छाडेर प्रभु साहको नाम जोडेर अनर्गल प्रचार गरेको अध्यक्ष साहको विज्ञप्तिमा उल्लेख छ ।

‘केही दिन अगाडि नेकपा एमालेबाट निर्वाचित उपमेयर र वडाध्यक्षलाई अपशब्द बोल्दा सिडियोले माफि मागेको, अनावश्यक रुपमा साहका स्वकीय विजय यादवलाई फसाउन खोज्दा डीएसपीले माफी माग्नुपरेको घटना जीवितै रहँदा गठबन्धनको इसारामा सिंगो एमाले पङ्क्तिमाथि आक्रमण सुरू गरेकोले रौतहट बन्द सहित संघर्षको कार्यक्रम अगाडि बढाउँनै छौं’, अध्यक्ष साहले भन्नुभएको छ ।

‘सवारी चालकले गुडाइरहेको गाडीबाट दुर्घटना भएको, चालक घटनास्थलबाटैं तत्काल प्रहरीद्वारा समातिएको विषय जगजाहेर हुँदा समेत कांग्रेस गठबन्धनको इशारामा जिप्रका र जि। प्रहरी कार्यालयको प्रमुखसमेत संलग्न रही यसरी लठैत शेलीमा हाम्रा पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री क। प्रभु साहलाई बदनाम गर्ने गराउने अभिप्रायले प्रेरित भइ गरिएको षड्यन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । दुर्घटनाको गहन अनुसन्धान गरी सत्यतथ्य पता लगाएर पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउनको सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाइको गाडीबाट मान्छे मारिएको भनी मानहानी गर्ने बदनियतपूर्ण कार्यको घोर भर्त्सना गर्दछौँ ‘, विज्ञप्तिमा भनिएको छ ।