परिणामबाट छिटै थाहा पाइएला । मन एकातिर तन अर्कातिर भए पछि नेता नेता रहँदैन, पार्टी पार्टी रहँदैन । रावलको जस्तो रत्यौली र भुसालको जस्तो भद्रगोल यही पार्टीमा मात्र गर्न पाइने हो र ? क्षय रोगको अन्तिम असर हेर्न पार्टी नेतृत्वले प्रतिक्षा गरेको हो भने केही भन्नु छैन । हावाले उडाउनेलाई किन कुचाले बढार्नु ? तर यस्ता अराजक विषय पार्टी वा कार्यकर्ताले ठाडो. कार्यवाहीको विषय बनाउनु पर्छ । एमाले बचाउने कार्यकर्ता हुन् भने कुनै पनि खाले आग्रह नराखी बेलैमा भुसाल प्रवृत्ति विरुद्ध गम्भीर बन्नुपर्छ
प्राडा.बद्रीविशाल पोखरेल
नेकपा एमाले स्थायी समिति सदस्य घनश्याम भुसालको लेख एक प्रसिद्ध छापा पत्रिकामा २०७८ चैत्र १ गते प्रकाशित भएको छ । कम्युनिस्ट पार्टीको भविष्य एकता वा सत्यानाश शीर्षकको उक्त लेखमा भुसालले बाम एकतालाई जोडबल दिएको देखिन्छ । तर उक्त लेखमा सपाट सत्य पूरै ओझेल पारिएको देखिन्छ । भुसालले नेताका सत्ता स्वार्थ र केवल अहंकारका कारण पार्टी एकता अर्को चुनाव देख्नै नपाईकन अकालमै एकै झड्कामा गलमगुर्लुम ढ्ल्यो भनेका छन् । यहाँ भुसाल समस्याको अन्तर्यलाई पूरै ढाकछोप गर्छन् । ओलीले ठूलै चुनौतिका साथ एकता गर्नु भएको स्पष्ट हुन्छ । एकता पछि झण्डैझण्डै दोस्रोपटक किट्नी फेर्दा र एपेण्डिसाइड फुटेर जीवन मरणको दोसाँधमा ओली पुग्नु भएको थियो । यसरी ओलीले दाहाल–नेपालजस्तो नितान्त निजी निहित निकृष्ट सत्ता र सरकार स्वार्थभन्दा धेरै माथि उठेर देश र जनतालाई राखेको यसै पनि स्ष्ट हुन्छ ।
१५ वर्ष र ३२ वर्ष पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेका दाहाल र नेपालले एक कार्यकाल पार्टी अध्यक्ष र प्रधानमन्त्री बनेर राम्रो काम गर्दा गर्दै बीचैमा उहाँलाई त्याग गर्नुपर्छ भन्दै बीचैमा हटाउन खोजेको दुर्नियत बारे जनता जानकार नै छन् । पार्टी एकता गर्दा ओलीले आफ्नो र आफ्नो गुटगत संकीर्ण स्वार्थ हेरेको भए तदनुकूल बहुमत पुर्याएर मात्र पार्टी एकता गर्नु हुन्थ्यो होला तर उहाँले दाहाल र नेपाल समूह मिल्दा आफू अल्पमतमा पर्न सक्छु भन्ने जानीबुझी पनि पार्टी एकता गर्नुको एउटै र मूल कारण हरेक प्रतिकूलतालाई देश र जनताका हितमा बदल्ने सोच हो । जे जति अवसर प्राप्त हुन्छ ,देशको उत्थानमा भरपूर प्रयोग गर्ने ओलीको उच्च र उदात्त ध्येय हो । यसरी देश र जनताका हितमा इमान्दारिताका साथ काम गर्दा जुनसुकै लबीका नेता र कार्यकर्ताले अवश्य सहयोग गर्छन् र गराउन सकिन्छ भन्ने ओलीको आत्म विश्वास पनि हो ।
आधाआधा कार्यकाल प्रधानमन्त्री हुने आपसी सहमतिलाई ओली मृत्यु सन्निकट अवस्था बुझेर पूरै कार्यकाल प्रधानमन्त्री बन्न दाहालले एकतर्फी सहमति प्रदान गरेकै हुन् । यो पनि दाहालले आफूप्रति सहानुभूति बटुल्न खोजेको तीतो यथार्थ उतिबेलै स्पष्ट भएको थियो । तर ओलीको स्वास्थ्य सबल र सशक्त बनेपछि दाहालको निद्रा हराम भएको स्पष्टै छ । बरु ओलीले गतिछाडा साँढे र गोरुलाई घाँसको लोभ देखाएर भए पनि सुधार्न सकिन्छ कि नसुध्रिए पनि अलि लामो कार्यकाल सरकार सञ्चालन गरेर विकास निर्माणका काम गर्न सकिन्छ कि भनेर आश देखाएको र लोभ्याएको भन्न सकिन्छ । साँढे अत्यन्त अराजक र स्वार्थ लम्पट हुन्छ भन्ने बुझेका ओलीले साँढेलाई खुल्ला चौरमा रत्यौली खेल्न भने नदिनु भएकै हो । त्यसमा पनि आफ्नै जातको साँढेलाई उकासेर प्रतिक्रियावादीहरुले टिक्न खान दिँदैनन् भन्ने बुझेकै हुँदा तीखे गोरु समेतका अनेक आलोचना र उत्तेजनालाई ओलीले सहनुको हदसम्म सहेको पनि हो । ओलीलाई दाहालले निर्वाचन आयोगलाई प्रयोग गरी दुई महिना प्रधानमन्त्री हुन बिलम्ब गरेको भुसालले यति छिटै कसरी बिर्सिएका होलान् ?
लेखमा पुष्पकमल, माधव कुमार नेपाल र केपी शर्मा ओलीहरु एक आपसमा गाली गलौजमा उत्रेको भनेर भुसालले अर्को एक तर्फी बयानबाजी गरेका छन् । माधव नेपाल र दाहालले पहिलेदेखि नै लिखित र मौखिक रुपमा अनेक तरिकाले ओलीको राजनैतिक निष्कलङ्क चरित्रलाई समेत लाञ्छित गरी बोलेपछि ओलीले हास्य विनोदी शैलीमा प्रतिवाद गर्न बाध्य हुनु परेको कुरा भुसालले चटक्कै बिर्सिदिए । माधव नेपालले नवौँ महाधिवेशनमा नै ओली मृत्यु शैय्यामा घिटीघिटी गरिरहेको र उनी अब जीवित हँदैनन् सम्म भनेर दुष्प्रचार गरेको सुन्ने साक्षी यही लेखक रहेको छ । त्यस बेला नेपाल समूहले ओली आज हो कि भोलि भनेर खास खास जिल्लामा व्यापक दुष्प्रचार गरिएको थियो ।
अझ देश डुब्नै लाग्यो कोही माझी भए आउ र देशलाई तारिदेउ भनेर सदनमा नेपालले ओली विरोधी ज्यानी दुष्मनी प्रदर्शन गरेर आफ्नू औकात लाई माटामा मिलाएका हुन् । उनै नेपालले सहित भएर ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गरेका होइनन् ? तर ओलीले सकेसम्म नेपाल दाहालाई कमजोरी स्वीकार गरेर वा सच्चिएर आउन आग्रह गर्नु भएको होइन र ? यसका लागि केही समय प्रतिक्षा पनि गरिएको होइन र ? तर नेकपा कायम राख्ने कुरामा सर्वथा असहमत भए पछि र दाहालको इसारामा एमाले फुटाउने कसम खाएका माधव नेपाललाई कसरी कुन स्थान र मानमा राख्न सकिन्थ्यो ? नेपालका सबै खतबात सहेर रातो तुल ओच्छ्याएर पार्टीको उपल्लो स्थान र मानमा राख्न भने नसकिएकै हो । छँदाखाँदाको सुखी घरबार आफू खुसी त्यागेर पोइल वा जोइल गएकी पत्नी वा पतिलाई कुन मानिसले निःशर्त घरमा हुल्छ कमरेड, ।
उतिबेला हामी जस्ता सैद्धान्तिक र वैचारिक नेतालाई थाहै नदिई गरेको एकता टिक्तैन भन्ने भुसाल तत्कालीन एकताका बारेमा अत्यन्त नकारात्मक कुरा गर्दै थिए । सब अभिलेख यस लेखकसित सुरक्षित रहेको छ । त्यसैगरी भुसालले लेखमा ओलीले दुईदुई पटक गरेको संसद् विघटन गरेको मुद्दाई शीर्ष स्थानमा राखेर खेदोपाइलो गरेका छन् । भुसाल कमरेड, कहिले काहिँ परिणामले पहिले गरेका कामहरुको औचित्य सिद्ध गरिदिन्छ । तर पनि भु्साल संसद् विघटन बारे पार्टी अध्यक्षलाई कपटपूर्वक दोषारोपण गरिरहेका छन् । प्रतिक्रियावादीहरु कसरी आउँछनु् र आउँदैछन् भन्ने कुरा जसकसैले कहाँ बुझ्छ र ? यस्ता कुरा कुनै कितावमा लेखेको हुँदैन अनि बौद्धिक भनिने नेताले कितावमा लेखे बाहेक पढ्दैन र बुझ्दैन पनि । अनि त्यस्तो बुद्धिजीवीलाई बुझाउन खोज्दा पनि उसले तत्काल बुझ्दैन । उसलाई बुझेँ भन्न उसको अहंले दिँदैन तर जब समय क्रममा उसको नाकै भाँचिन्छ अनि मात्र बुझ्छ तर भुसाल जस्ता अहंकारी नेता भने आफूले जे बुझेको छ त्यसैका लागि प्राण त्याग गर्न बेर लगाउँदैनन ।
अदालतको परमादेशबाट नियुक्त वा टिके प्रधान मन्त्री बने बनाएकामा भुसाल किञ्चित चिन्ता गर्दैनन् । प्रतिक्रियावादीले के के समम गर्छन् भन्ने राम्ररी बुझेर संसद् विघटन गर्न बाध्य भएको स्थिति हो । फेरि यस खालका काम गर्न गराउन दाहाल नेपाल भने ओली सरकार गठन भएको भोलिपल्टैदेखि ज्यान पालेर लागिपरेको यस लेखकसित तिथि मिति सहित तमाम अभिलेख कपीमा सुरक्षित छ । किनभने प्रतिपक्षी भन्दा चर्को स्वरमा ओली सरकारका विरोधी दाहाल र नेपाल लागेका थिए । यसमा भुसालको मन्त्री हुनुभन्दा अघिको ओली विरोधी बोली र वचनको तुच्छता निम्न स्तरकै थियो । भुसालले पार्टी एकताकै कुरा गरेको भने को सित गर्ने नाममात्रका कम्युनिस्ट सित ? चारतारे झण्डा बोकेर कम्युनिस्ट आन्दोलन बचाउछु भन्नेहरु सित ? जननेता मदन भण्डारीले हँसिया हथौडा झण्डा बोक्तैमा कोही कम्युनिस्ट हुँदैन भन्नु भएको छ । बरु महासचिव शंकर पोखरेलले प्रदेश नं. १ को प्रशिक्षणमा भनेझै
अब अमृुक प्रमु्ख नेताबाट होइन अगुवा कार्यकर्ताबाट पार्टी एकता गर्नुपर्छ । र यो चाहिँ टिकाउ हुनसक्छ तर भुसाल किन आफ्नो आङ कन्याएर छारो उडाउन अझै उद्यत छन् ? यो खोजीको विषय हो । ओली सरकारले पहिले कहिल्यै कुनै पनि सरकारले नगरेका र गर्न नसकेका देश,जनता र जनजीविकाका सबालका कामहरु भुसाल किन एक कन्चो उल्लेख गर्न मानिरहेका छैनन् किन ? भुसाल किन परचक्री झैँ पार्टीकै विरुद्ध तथानाम गर्छन् किन ? माओले जनता, सिद्धान्त र नेतृत्वमा विश्वास अनिवार्य हुनुपर्छ भन्नु भएको छ र यस्ता सदस्यको पार्टीमा कुनै काम छैन पनि भन्नु भएको छ ।
द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी भनिने पार्टी स्थायी समितिका सदस्यको यस खालको अत्यन्त सतही पार्टी विरोधी आलेख लेखिन्छ भने र यसले प्रोत्साहन पाउने हो भने पार्टीमा भाइरसको चलखेल बढ्नेछ । पार्टी स्थायी समितिमा यस बारे भुसालले आत्मालोचना गरुन् । नत्र यो अमुक प्रमुख र जसकसैलाई सदारत्यौली खेल्नका लागि रामनाथ दाहाल र रत्नकुमार वान्तवा आदिले अनमोल जीवन बलिदान गरेका होइनन् भन्ने बेलैमा बुझौँ । प्रतिक्रियावादी कित्तामा गएर उसैको इसारामा बारबार नग्न नृत्य गर्ने परिपाटी तुरुन्त रोक्नु पर्छ । जसलाई पार्टी र नेतृत्व नै मन परेको छैन भने कुण्ठा मात्र पोख्न यस पार्टीमा पाइन्न ।
कुनै पनि विषयको मूल्याङ्कनका माक्र्सवादी आधारहरु छन् । ती आधार वस्तुनिष्ठ पनि छन् । तिनले सापेक्षता, पूर्ण र अंश जस्ता आधारमा मूल्याङ्कन गर्ने गर्छन् । यसरी गरिएको मूल्याङ्कन मात्र सही हुन्छन् । भुसालको जस्तो मनगढन्ते लेख लेख्न माक्र्सवादी हुनै पर्दैन । यस्ता लेखोट सामान्य र सतही लेखन्तेले नै लेखिहाल्छ नि । यो लेख लेखेको भन्दा पनि लेखाएको आभास यस लेखकलाई भएको छ । किनभने क्षणिक सोचको मानिस सर्वनाश हुनु भन्दा प्राणको रक्षा गर्न चाहन्छ । भनिन्छ नि डुब्न लागेको मानिसलाई त्यान्द्रोको सहारा । ठीक त्यस्तै दाहाल र नेपाललाई अहिले प्राणरक्षाको चिन्ताले सताएको हुनुपर्छ । यसका लागि भुसाल लेख लिएर देखापरेका हुनसक्छन् । तर यस्ता संवेदनशील विषयमा ओली सितै दाहाल र नेपालले जम्लाहात गरेर माफ मागे भइगयो । विचौलियाको प्रयोग यसमा फलिफाव हुँदैन । किनभने सदावर्त दलाली मात्र गरेर आन्दोलन र क्रान्तिलाई घाटा पार्ने विचौलियाको अब काम छैन ।
भुसाल एमाले हुन् भने २४ लाख कारोना खोप सरकार आफैँले हराएको भनिएकामा किन बोल्दैनन् । भुसाल महाकाली नदीमा बगाएर भारतीयका कारण मारिएका जयसिंह धामीका बारेमा गठबन्धन सरकारको नियत प्रति किन मौन बन्छन् ? महाकाली नदीमा भारतीय सरकारले एक तर्फी तटबन्ध बनाएको बारे भुसाल किन बोल्न अनकनाइ रहेकाछन् ? भारत अनुकूल वा कन्फर्टेवल गठबन्धन सरकारका तमाम देश र जनता विरोधी काममा किन मौन साधना गरिरहेका छन् र उल्टो आफ्नै पार्टी र नेतृत्वको सदा खेदो खन्न किन रौसिन्छन् । कारण नभई कार्य हुँदैन । यसमा सैद्धान्तिक कारण पटक्क छैन, केही प्राविधिक गुप्तगु कारण हुनुपर्छ तमाम पार्टी कार्यकर्ताको मन पोल्ने तर प्रतिक्रियावादीलाई खुसी पार्न यस्ता लेखहरु फोकटमा भुसाल लेखिरहेका छैनन् ।
परिणामबाट छिटै थाहा पाइएला । मन एकातिर तन अर्कातिर भए पछि नेता नेता रहँदैन, पार्टी पार्टी रहँदैन । रावलको जस्तो रत्यौली र भुसालको जस्तो भद्रगोल यही पार्टीमा मात्र गर्न पाइने हो र ? क्षय रोगको अन्तिम असर हेर्न पार्टी नेतृत्वले प्रतिक्षा गरेको हो भने केही भन्नु छैन । हावाले उडाउनेलाई किन कुचाले बढार्नु ? तर यस्ता अराजक विषय पार्टी वा कार्यकर्ताले ठाडो. कार्यवाहीको विषय बनाउनु पर्छ । एमाले बचाउने कार्यकर्ता हुन् भने कुनै पनि खाले आग्रह नराखी बेलैमा भुसाल प्रवृत्ति विरुद्ध गम्भीर बन्नुपर्छ । क्षयरोगको उपचार अलि कडा खालकै गर्नु पर्ने भएकाले यो लेख यति कडा लेख्नु परेको पाठक समक्ष राख्न चाहन्छु ।













प्रतिक्रिया दिनुहोस्