जनता टाइम्स

५ चैत्र २०७८, शनिबार ११:४३

जनताको भोटले बनाइदिएको हो र गठबन्धन ? यस्तालाई जनताकै आँगनमा लगेर पछार्नुपर्छ : अध्यक्ष ओली


काठमाडौं, ५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले बनाइदिएको पाँच दलीय सत्ता गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्नुपर्ने बताउनुभएको छ । एमाले सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुद्दा जितेर आएका झगडियाहरुलाई जनतामा जाने अधिकार नै नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले हो र गठबन्धन बनाइदिएको ? भोटले हो र ? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ । अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाउ भन्ने हो, हामी जनताको बीचमा जाने हो ।’ कांग्रेससँग जनतासँग जाने कुनै एजेण्डा नरहेकाले एमालेको भण्डाफोर गर्ने नीति लिएको बताउनुभयो । उहाँले आउने स्थानीय चुनावमा बहुमत सिट एमालेले जित्नै पर्ने सुनाउनुभयो ।