जनता टाइम्स

५ चैत्र २०७८, शनिबार १७:२१

प्रचण्डले स्वीकार गरे ऐतिहासिक भूल भएको तथ्य


सिन्धुली, चैत ५ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले हार्ने चुनाव हुन नसक्ने भन्दै आफूभित्रको त्रास बाहिर ल्याउनु भएको छ ।

सिन्धुलीमा शनिवार माओवादी पार्टी कार्यालय भवनको उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो । उहाँले नेकपा एमालेलाई केन्द्रदेखि प्रदेशसम्म सरकारबाट हटाएर कांग्रेसको नेतृत्व स्थापित गर्नुलाई ऐतिहासिक सफलताको रुपमा ब्याख्या गर्नुभयो । ‘एमालेलाई केन्द्रदेखि प्रदेशका सरकारबाट हटाउनु ठुलो सफलता भए पनि प्रतिगमन फर्किने (एमाले सरकारमा जाने) खतरा कायमै रहेको छ,’ प्रचण्डको भनाई थियो ।

प्रचण्डले एमाले सरकारमा जाने कुरा नै प्रतिगमन भएको परिभाषा समेत गर्नुभयो । ‘लगातार सदन अवरुद्ध गरेर फेरि विघटन चाहने प्रवृत्ति अहिले पनि कायम छ । अझै पनि रिल्याक्स गर्ने स्थिति छैन । पोहोर साल पहिलो संसद् विघटन बदर भएपछि रिल्याक्स मुडमा बसियो, दोस्रो पटक फेरि विघटन आयो । जितियो भनेर रिल्याक्स गरियो भने फेरि कुनै पनि बेला प्रतिगमन फर्किन सक्छ,’ प्रचण्डको भनाई थियो । प्रचण्डले आफूले पटक पटक बुढानिलण्ठ गएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुस् भनेर गठबन्धन बनाएको स्मरण पनि गर्नुभयो ।

सम्बोधनको क्रममा प्रचण्डले उन्मादमा आएर आफूले ऐतिहासिक भूल गरेको घटना पनि पुनः दोहोर्याउनु भयो । आफूले देशको रक्षाका लागि पटक पटक लचिलो बनेको भन्दै गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु ऐतिहासिक भूल भएको प्रचण्डको भनाई थियो ।