जनता टाइम्स

७ चैत्र २०७८, सोमबार १५:०६

एनआरएनए विवाद उत्कर्षमा : निर्वाचन रोकेर छलफलमा आउन दुवै पक्षलाई उच्च अदालतको अन्तरिम आदेश


काठमाडौं, चैत ७ । पाटन उच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन रोकेर छलफलमा आउन दुवै पक्षलाई अन्तरिम आदेश दिएको छ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले सोही अदालतको आदेशविपरीत निर्वाचनको घोषणा गरेपछि दुवै पक्षलाई अदालतले बोलाएको हो ।

अदालतले निर्वाचन र महाधिवेशन प्रक्रिया तत्काल रोक्न पाटन उच्च अदालतले ९ चैतसम्मका लागि अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि यही चैत ९ गते बुधबार बोलाउने र त्यतिन्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न आज अन्तरिम अल्पकालीन आदेश दिएको हो।

दुवै पक्षलाई आ(आफ्नो प्रमाणसहित छलफलका लागि अदालतले बोलाएको छ । अदालतको आदेशपछि घले समूहले निर्वाचन गराएमा मानहानिको मुद्दा दर्ता गर्ने अर्को पक्षको तयारी छ । अदालतको फैसलापछि सहमतिका लागि नेतृत्वलाई दबाब बढेको छ ।