जनता टाइम्स

२३ असार २०७६, सोमबार १३:१९

उत्तर प्रदेशमा भएको बस दुर्घटनामा २७ को मृत्यु


नयाँ दिल्ली, असार २३

उत्तरी भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा परी सो बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि २७ जनाको ज्यान गएको समाचार छ । उत्तरी राज्य उत्तर प्रदेशमा भएको बस दुर्घटनामा परी २७ जनाको ज्यान गएको र अरु १५ यात्रु नराम्ररी घाइते भएका समाचारमा जनाइएको छ ।

भारतीय राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी शहर लखनउ जान लागेको सो बस खोँचमा खसेको थियो । यस दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारको काम निकै कठिन भएको अधिकारीहरुले जनाएका छन् । सोमबार बिहान आग्रा पुगेपछि सो बस खोँचका खसेर दुर्घटनाग्रस्त भएको थियो ।

प्रहरीले उद्धारको काम कठिन भएको बताएको छ । आग्रा जिल्लाका म्याजिस्ट्रेट एन जी रवि कुमारले सो बस दुर्घटनाको पुष्टि गर्नुभएको छ । उहाँले २७ जनाको घटनास्थलमै निधन भएको र बाँकी घाइते १५ लाई निकै गाह्रोगरी उद्धार गरेर अस्पतालसम्म पु¥याइएको जानकारी दिनुभएको छ ।

गुडिरहेको बस सडकबाट कम्तीमा ५० फिट तल खसेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको केही समयमै प्रहरी पुगेपनि अधिकांशको घटनास्थलमै ज्यान गएको थियो ।