तनहुँ, ८ चैत । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाहको बयान लिएको छ । आज जिल्ला अदालत तनहुँले उनको बयान लिएको हो । पलको बयान लिएर सकिएको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णु तिम्लिसिनाले बताउनुभयो । उहाँका अनुसार दिउँसो करिब ३ बजेदेखि साढे ५ बजेसम्म पलको बयान लिइएको थियो ।
उहाँका म्यानेजर कृष्णप्रसाद जोशीको बुधबार १० बजेपछि बयान लिने उहाँले बताउनुभयो । ‘पल शाहको बयान सकियो । म्यानेजरको बयान लिन बाँकी छ । भोलि सुरुमै बयान लिन्छौं’, उहाँले भन्नुभयो । प्रहरी हिरासतमा रहेका नायक शाह विरुद्ध आज नै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियो । सोमबार तनहुँ प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
जोशीको बयान सकिएपछि जाहेरवाला र प्रतिवादी पक्षका कानुन व्यवसायीबिच बहस चल्नेछ । दुवै पक्षका आधा दर्जन कानुन व्यवसायीले बहस गर्ने बुझिएको छ । यो संख्या थपघट हुनसमेत सक्नेछ । दुई पक्षको बहस सुनेर मिसिलमा संग्लन प्रमाणको आधारमा जिल्ला अदालत तनहुँले थुनछेकको आदेश जारी गर्नेछ । प्रमाण पुगेको खण्डमा पुर्पक्षका लागि शाह र जोशीलाई थुनामा पठाइन्छ ।
प्रमाण पुगेन भने धरौटीमा रिहा हुनेछन् । १२ देखी १४ वर्षको कैद सजाय माग गर्दै पलविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएको हो । उनका म्यानेजर जोशी मतियार भएकाले आधा सजायको माग गरिएको छ । ११ फागुनमा उदयमान एक गायिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय तनहुँमा आएर जर्वजस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएका थिए । पलले अन्तिम पटक तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा जर्वजस्ती बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
बालिकाको अभिभावकले उजुरी दिएपछि १५ फागुनमा पल आफैँ जिल्ला प्रहरी कार्यालय तनहुँमा आएर अत्मासमर्पण गरेका थिए । सोही दिन उनलाई जिल्ला अदालत तनहुँले अनुसन्धानका लागि सात दिनको दिएको थियो । त्यसपछि १२ दिनको म्याद थपिएकोमा बिहीबार सकिएको थियो । बिहीबार फागु पूर्णिमाको बिदा परेकाले शुक्रबार अदालतले पाँच दिनको म्याद थपेको थियो । उनका म्यानेजर जोशीलाई पनि २७ फागुनमा दमौलीबाट लिएर अनुसन्धान गरिएको थियो ।
पल नवलपुर प्रहरीमा पनि उजुरी परेको थियो । २३ फागुनमा उनलाई तनहुँ प्रहरीले नवलपुर प्रहरी समक्ष अनुसन्धानका लागि बुझाएको थियो । १ चैतमा नवलपुरबाट तनहुँ ल्याएर प्रहरीले थप अनुसन्धान गर्यो । नवलपुर जिल्ला अदालतमा गत बिहीबार पलविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले पलविरुद्ध अभियोगपत्र दायर गरेको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गर्दै अभियोग पत्र दायर भएको हो ।













प्रतिक्रिया दिनुहोस्