जनता टाइम्स

९ चैत्र २०७८, बुधबार १२:२३

प्रचण्डसँग मातृकाको असन्तुष्टीः बहिस्कारदेखि उजुरीसम्म


काठमाडौं, ९ चैत्र । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट मातृकाप्रसाद यादवले कार्यक्रम बहिस्कारदेखि उजुरीसम्म दिनु भएको छ । मधेस प्रशिक्षण कार्यक्रमलाई बहिस्कार गरेका यादवले अध्यक्ष प्रचण्डले लिएको नीतिदेखि मधेस प्रदेशको सांगठानिक संरचना निर्माणका विषयलाई लिएर बहिस्कारदेखि उजुरीसम्म दिन भ्याएउनु भएको हो ।

‘मैले हेडक्वाटरमा समसामयिक राजनीतिक विषयदेखि मधेस प्रदेशको समस्या सम्बोधनका लागि भनेर उजुरी दिएको छु,’ यादवले न्युज कारखानासँग भन्नुभयो , ‘त्यो उजुरीको सम्बोधन नभएसम्म मेरो पार्टीलाई आवश्यकता पनि छैन, आवश्यक नै नभएपछि बैठक र प्रशिक्षणमा जाने कुरा पनि हुन्न ।’ केन्द्रीय कमिटी बैठकपछि दिएको लिखित उजुरीलाई अध्यक्ष प्रचण्डले अझै सम्बोधन नगरेको र सो सम्बोधनको प्रतिक्षामा आफू रहेको यादवले जानकारी दिनुभयो ।अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), मधेसको सांगठानिक संरचनादेखि नेतृत्वले लिएको पछिल्ला नीतिप्रति असन्तुष्टी जनाउँदै यादवले माओवादी केन्द्रीय कार्यालयमा लिखित उजुरी दिनुभएको हो ।

सो उजुरी सम्बोधन नभएपछि यादवले जनकपुरमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई पनि बहिस्कार गर्नुभएको छ । मधेस प्रदेशमा पूर्वमाओवादी र जनमोर्चा समूहका बीचमा सत्ता संघर्ष जारी रहेको बखतमा सन्देश दिने गरी यादवले मंगलबार बैठक बहिस्कार गर्नुभएको थियो । सहिद रामबृक्ष यादवको शालिक प्रकरण, मधेस प्रदेश सदस्य चयन, पदाधिकारीलगायतका विषयमा यादवले अध्यक्ष प्रचण्डसँग असन्तुष्टी जाहेर गर्दै आउनुभएको छ । पूर्वजनमोर्चा समूहका गिरिराजमणी पोखरेल, विश्वनाथ साहलगायतलाई बढी भूमिका दिएको तर जनयुद्धकालीन कार्यकर्तालाई भने किनारा लगाएको भन्दै युद्धकालीन माओवादी कार्यकर्ता असन्तुष्ट रहेको बेला यादवले प्रशिक्षण बहिस्कार गर्नुभएको हो ।

प्रदेश कमिटी निमार्ण गर्न पनि झन्डै एक साता लगाएको माओवादीले मधेस प्रदेशमा नेतृत्व चयन गर्न अझै पनि सकेको छैन ।‘अध्यक्षसँग मेरा असन्तुष्टी कायमै छन् तर हिजोको कार्यक्रममा उहाँ आउँदा स्वागत र बिदाइ दुवै गर्न गएँ, मात्र प्रशिक्षण कार्यक्रममा उपस्थित नभएको हो,’ यादवले भन्नुभयो , ‘अरू जिम्मेवारी साथीहरू हुनुहुन्थ्यो, त्यसैले मेरो त्यहाँ आवश्यकता नै थिएन, अनि प्रशिक्षणस्थलमा नबसेको हुँ ।’ यादवका अनुसार आफ्नो उजुरीको माग सम्बोधन नभएसम्म पार्टीको आन्तरिक कार्यक्रम र सांगठानिक निमार्णजस्ता कार्यमा बहिस्कार र अनुपस्थिति दुबै रहिरहनेछ ।