काठमाडौं, चैत्र ९ । बहिर्गमित जनमुक्ति सेना नेपालको नेतृत्वमा माओवादी लडाकुहरू सामूहिकरूपमा एमाले प्रवेश गर्ने तयारी गरेका छन् । एमालेले ‘युद्धकालीन अपराध र मुद्दा’ लाई सम्बोधन गर्न तयार भएकाले समूहमै एमालेमा प्रवेश गर्ने तयारीमा देखिएका हुन ।
यसै साता एक कार्यक्रम गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वलडाकुहरूलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । अध्यक्ष लेनिन विष्टले भन्नुभयो ‘जनमुक्ति सेनाका योद्धाहरूको माग, गुनासा र अप्ठ्यारा सम्बोधन गर्न एमालेसँग सकारात्मक देखिएको छ । छलफलहरू सकारात्मक हुँदै गएका छन्,’ ‘सामूहिक पार्टी प्रवेशको लागि मिति चाँडै तोक्ने भन्ने छ ।’ उहाँका अनुसार एमाले अध्यक्ष ओलीले सामूहिक पार्टी प्रवेश कार्यक्रमका लागि सचिव टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिनुभएको छ । अध्यक्ष ओली र विष्टबीच पूर्वमाओवादी लडाकुका माग र मुद्दाका बारे तीन चरण छलफल भइसकेको छ ।
ओली पहिलोपटक प्रधानमन्त्री हुँदा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत राहत रकम दिने घोषणा गर्नुभएको थियो। बहिर्गमित लडाकुलाई ८४ करोड बजेट छुटाए पनि सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । तर, गत १ फागुनमा रकम निकासा गर्न आदेश दिए पनि सरकारले त्यसलाई सम्बोधन भने गरेको छैन ।‘राहत मात्र होइन, पूर्वजनमुक्ति सेनालाई राज्यको तर्फबाट सम्मानपत्र, परिचयपत्रको व्यवस्था पनि ओलीज्यू प्रधानमन्त्री हुँदा नै भएको हो । यसले पनि हामीलाई हाम्रा माग सम्बोधन हुनेमा आशावादी बनाएको छ,’ विष्टले भन्नुभयो।













प्रतिक्रिया दिनुहोस्