जनता टाइम्स

११ चैत्र २०७८, शुक्रबार १०:४४

कांग्रेस बैठकअघि सानेपामा विरोध प्रदर्शन हुने


काठमाडौं, ११ चैत । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले कांग्रेस केन्द्रीय समिति बैठकस्थल सानेपामा विरोध प्रदर्शन गर्ने भएका छन् । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गर्न लागेका हुन् ।

‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्त गर्नु भएको छ । यसप्रति हाम्रो गम्भीर असहमति रहेको छ,’ पूर्वकेन्द्रीय सदस्य प्रेमिका रानामगरले भन्नुभयो,‘बैठक सुरु हुनुअघि शुक्रबार दिउँसो १ बजेदेखि नै शान्तिपुर्ण रूपमा केन्द्रीय कार्यालयमा विरोध सप्रदर्शन गर्नेछौं ।’

उहाँका अनुसार कोइराला समूहको बालुवाटारमा हिजो साँझ बसेको अनौपचारिक छलफलपछि सो प्रर्दशन गर्न लागिएको हो । बैठक आज दिउँसो २ बजेदेखि सुरु हुनेछ । ‘हिजो शेखर दाइको सचिवालयमा हाम्रो बैठक थियो ।

सो बैठकले सभापतिको सो एकलौटी निर्णयप्रति असहमति जनाउँदै शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागेको हौं,’ मगरले भन्नुभयो । उहाँका अनुसार उक्त बैठकमा कोइराला, चन्द्र भण्डारी, गुरुराज घिमिरे, केशवसिंह, प्रतिमा गौतम, मनोजमणि आचार्य, गोविन्दराज पोखरेललगायत नेविसंघ र तरुण दलका पूर्वपदाधिकारीहरूको उपस्थिति थियो ।