काठमाडौं, ११ चैत । तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी आज काठमाडौं आइपुग्नुभएको छ । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उहाँ विशेष विमानबाट काठमाडौं आउनुभएको हो । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उहाँनेपाल आउनुभएको हो । चिनियाँ विदेशमन्त्रीको रुपमा वाङको यो तेस्रो नेपाल भ्रमण हो । बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा उहाँलाई राखिएको छ । उहाँको आज कुनै औपचारिक कार्यक्रम रहेको छैन ।
चिनियाँ विदेशमन्त्री वाङ आज साँझ काठमाडौंस्थित चिनियाँ दूतावास पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ उहाँले चिनियाँ राजदूत र नेपालमा रहेका चिनियाँ समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । भोली विहान हाइकिङको लागि उहाँ शिवपुरी पुग्ने बताइएको छ । हाइकिङबाट फर्केपछि विहान १० बजे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्नुहुनेछ ।
परराष्ट्र मन्त्रालयमा नै दुई देशका विदेशमन्त्रीको उपस्थितमा नेपाल–चीन उच्चस्तरीय बैठक बस्ने छ । बैठक सकिएपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । सिंहदरबारबाट निस्केपछि उहाँ दिउँसो प्रधानमन्त्री निवास बालुवाटार जाने कार्यक्रम रहेको छ । त्यहाँ उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।
चिनियाँ विदेशमन्त्री वाङ आइतबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम रहेको छ । त्यसपछि उहाँले आइतबार नै मध्यान्ह नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम छ । ओली र प्रचण्डसँग नक्सालस्थित होटेल मेरियटमा उहाँले भेट गर्नेछन् । आइतबार नै उहाँ स्वदेश फर्कनुहुने भएको छ ।













प्रतिक्रिया दिनुहोस्