जनता टाइम्स

११ चैत्र २०७८, शुक्रबार १९:२४

गठबन्धनबिना एमालेसँग प्रतिस्पर्धा गर्नै नसकिने देउवाको निश्कर्ष, बिरोध गर्ने नेतालाई दिए यति कडा चेतावनी


काठमाडौं, चैत ११ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनबिना नेकपा एमालेसँग प्रतिस्पर्धा नै गर्न नसकिने ठोकुवा गर्नुभएको छ । आज बसेको केन्द्रीय समितीको बैठकमा प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनबिना एमालेलाई जित्न संभव नहुने बताउनु भएको हो ।

गठबन्धन गरे काँग्रेसको अस्तित्व नै संकटमा पर्छ भन्ने प्रदेश सभापतिहरुको धारणालाई अस्विकार गर्दै सभापति देउवाले गठबन्धन नगरी चुनाज जितेर देखाओ भन्दै चेतावनी दिनुभएको छ । यतिसम्म कि देउवाले चितवनमा काँग्रेसले एक्लै चुनाव जित्नै नसक्ने ठोकुवा पनि गर्नुभएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले आफू विद्यार्थी राजनीति गर्दादेखि नै चितवनमा चुनाव जित्न नसकेको स्मरण गर्नुभयो । ‘चितवनमा कांग्रेसले कहिल्यै चुनाउ जितेको इतिहास छैन। जहिले हारेको हारेइ। कहिले जित्दा पनि जित्दैन,’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले जनताटाइम्स डटकमसँग भन्नुभयो, ‘ मैले उहिले विद्यार्थी राजनीतिबाटै जानेको हुँ। यहाँ भएका साथी मध्ये कोही त जन्मनु पनि भएको थिएन होला।’

देउवाले नेकपा एमालेलाई हराउन गठबन्धन बनाउनै पर्ने बताउनु भयो । उहाँले चितवनमा कांग्रेस एक्लै लड्नुपर्छ भन्ने नेता कार्यकर्तालाई चुनाव नजिते के गर्नुहुन्छ भनेर प्रश्न गर्नुभएको छ । बैठकमा सभापति देउवाको चेतावनी थियो, ‘गठबन्धनबिना चुनाव जितेर देखाओ। जितेन भने मैले जान्या छु। ’