तनहुँ, चैत ११ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी एकीकृत समाजवादीलाई झुप्रोको संज्ञा दिनुभएको छ । नेता नेपालले कम्युनिस्ट पार्टीको हवेली नेकपा एमालेलाई छाडेर सडकमा सानो झुपडी बनाएको उहाँको भनाई छ ।
‘हाम्रा पार्टीका नेता लोभिपापी हुन । माधव नेपालले निकै ठूलो काम गर्नुभो । सुपरमार्केट जत्रो पार्टीको नेता बन्न सक्नुभएन । अधिकार जमाउन सक्नु भएन । चोरेर लगेर सडकमा एउटा सानो झुपडी बनाउनुभाछ’, तनहुँमा नेकपा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले भन्नुभयो ।
नेकपा एमालेलाई संघीयता विरोधी भन्नेहरूलाई उहाँले प्रश्न पनि गर्नुभयो । ‘संघीयताको पक्षधर भनेको कस्तो हुनुपर्छ ? माधव नेपाल जस्तै सडक गएर रुनेहरू हुन् संघीयता पक्षधर १’ गुरुङले भन्नुभयो । उहाँले विदेशीको डिजाइनमा फसेर नेता नेपालले पार्टी फुटाएको ठोकुवा पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुनै न कुनै दिन यो सबै कुराको पर्दाफास हुन्छ । त्यो दिन माधव नेपाल रोएर एउटै कुनामा बस्नु बाहेक अरू उपाय हुनेछैन । सबैले उहाँलाई छोड्छन् ।’
नेकपा एमाले क्रान्तिकारी भएन भनेर छाडेका उनीसँग कुनै सिद्धान्त नभएको उपमहासचिव गुरुङको जिकिर छ । ‘नेकपा एमाले क्रान्तिकारी भएन । मुलुक निर्माण नगर्ने भो । मुलुकमा क्रान्ति नल्याउने भो । समाजवाद नल्याउने भो भनेका उनले कुन सैद्धान्तिक आधार बनाएका छन् त ? मार्गदर्शन के छ उहाँसँग ? कुनै न कुनै वाद त उहाँसँग हुनपर्यो नि’, गुरुङले भन्नुभयो, ‘अध्यादेशबाट बनेको कुनै पनि पार्टी कम्युनिस्ट पार्टी बन्न सक्दैन ।’ अरू कसैको डिजाइनमा नेकपा एमालेलाई कमजोर गराउन प्रतिकृयावादीसँग सहकार्य भएर सरकार बनेको उहाँको भनाई छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेलाई आफ्नो घर भनेर फर्किएका कसैलाई पनि पक्षपात नगरिने बताउनु भयो । गुरुङले एमालेको गतिलाई छेक्ने तागत कसैको नभएको ठोकुवा गर्नुभयो । केन्द्रीय सदस्य भगवती न्यौपानेले पुँजीवादीको नेतृत्वमा समाजवाद ल्याउने भन्दै माधव नेपालले भ्रम छरेको आरोप लगाउनु भयो । माधव नेपालले आफ्नो खुट्टा काटेर हिँड्न नसक्ने भएपछि कांग्रेससित हे प्रभु भन्दै खुट्टा मागिरहेको उहाँको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्